२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक



  • आफ्नै खबर
  •     (८ महिना अघि)
  • पाठक संख्या १२३
  • मुस्ताङ/  मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति, उजाड भूूगोल र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल, ऐतिहासिक दरबार, गुम्बा, नदी, तालतलैया, हिमाली जीवनशैली, तालतलैया र गुफा रहेको मुस्ताङमा पछिल्लो समय दुर्लभ वन्यजन्तुहरुको सहजै देखिन थालेपछि अर्को आकर्षण थपिएको छ । 

    लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका वडा सदस्यसमेत रहनुभएका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुरुङले जोमसोम–कोरला सडक आसपासकै क्षेत्रमा दुर्लभ वन्यजन्तु देखिन थालेका बताउनुभयो । लोमान्थाङ–जोमसोम सडकमा यात्रा गर्ने क्रममा गुरुङले बिहीबार गाडी र मानिसहरु छेउमै भए पनि नाउरहरु चरिरहेको देखेर पर्यटक दङ्ग परेका उहाँको भनाई छ ।  

    लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ घाराका पेमाछिरिङ गुरुङले दामोदरकुुण्डदेखि घारा आउने क्रममा बिहीबार ५ ठाउँमा नाउरको बथान देखेको बताउनुभयो । ‘दामोदरकुुण्ड तीर्थयात्राका क्रममा देखिने नाउरका बथानले पाहुनालाई लोभ्याएका छन्’, घोडाबाट तीर्थयात्रीलाई घारादेखि दामोदरकुण्ड लैजाने र ल्याउने गर्दै आउनुभएका पेमाले भन्नुभयो, ‘दामोदरकुण्ड पारिको पाखा, सन्ताउन्नको डाडा, खेता क्षेत्रमा नाउरका बथान जहिले पनि भेटिन्छन् ।’

    समुद्री सतहदेखि ५ हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड नजिकैको पाखामा तिब्बती ज्याजल, फ्याउ मुसा, वनखरायो, हिउँ चितुवा, ब्याँसो, नाउर, रातोभालुलगायत वन्यजन्तु भेटिने पेमाले बताउनुभयो । दामोदरकुण्डसँगै कोरला नाका, छोसेरको झोङ गुफा, समर, भेनाको पहाड, साङ्ता जाने सडक र पदमार्गको छेउछाउमै वन्यजन्तु देखिन थालेका छन् । तनहुँका दुलेगौडाका सुरेश भट्टराईले यात्राकै क्रममा जङ्गली जनावरहरु देख्न पाएकामा दङ्ग परेको बताउनुभयो । 

    समुदायमा वन्यजन्तुप्रतीको चेतनास्तरको विकास, संरक्षण शिक्षा र चोरी–सिकारी नियन्त्रणसँगै वन्यजन्तु बढेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालय प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो । 

    ‘विशेष गरेर उपल्लो मुस्ताङका बासिन्दामा संरक्षण क्षेत्रमा आएको जागरण र सचेतनाका कारण बस्ती र सडक छेउछाउमै वन्यजन्तु देखिन थालेका हुन्’, उहाँले भन्नुभयो, ‘तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङमा नयाँ नयाँ प्रजातिका जनावर र पक्षीहरु देखिने भएकाले यस क्षेत्रको अध्यताहरुका लागि धेरै सम्भावना छ ।’ मुस्ताङमा वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि एक्यापले सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । 

    वन्यजन्तुले पर्यटकलाई आकर्षित गराए पनि किसानलाई भने दुःख दिने गरेको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका किसान लोप्साङ छोप्पेल गुरुङले बताउनुभयो । ‘ब्वाँसो र हिउँ चितुवाले भेँडाच्याङग्रा मारेर किसानलाई दुःख दिएको छ’, उहाँले भन्नुभयो, ‘घुम्ती गोठमा पालिने भेँडाच्याङग्रा र चौँरीलाई ब्यासो र चितुवाबाट बचाउन चुनौती भएको छ ।’ वन्यजन्तु पीडितलाई राज्यले उपलब्ध गराउने राहत वृद्धि र सहज बनाउनुपर्ने मुस्ताङका किसान बताउँछन् ।

    -रासस