१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

पर्यटकको बसाइ लम्ब्याउने माध्यम बन्यो दियालो बङ्गला



  • आफ्नै खबर
  • २४ भदौ २०८१ सोमबार (३ महिना अघि)
  • पाठक संख्या ५५
  • चितवन/  सर्वसाधारणका लागि दियालो बङ्गला खुला गरेसँगै हालसम्म २३ हजार ५ सय ७४ जनाले अबलोकन गरेका छन् । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएर गत असार २३ गतेदेखि  बङ्गला सर्वसाधारणका लागि खुला गरिएको थियो । यही भदौ २२ गतेसम्म १ सय २७ जना विदेशी पर्यटक पनि बङ्गला अवलोकन गरेका थिए । 

    भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार अवलोकन गर्न आएकाबाट २३ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सर्वसाधारण नेपालीलाई प्रवेश शुल्क १ सय रुपैयाँ तथा ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । 

    यस्तै छिमेकी राष्ट्र भारत र चीनका पर्यटकका लागि १ सय ५० रुपैयाँ, तीबाहेकका सार्क राष्ट्रका पर्यटकका लागि २ सय रुपैयाँ र अन्य मुलुकका पर्यटकका लागि ३ सय रुपैयाँ शुल्क तय गरिएको छ । उपप्रमुख अधिकारीले दैनिक घुम्न आउनेको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।

    भरतपुर –१ मा दियालो बङ्गला छ । नेपाल ट्रष्टसँग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो । उठेको राजस्वको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउनेगरी व्यवस्थापन गरिएको हो । महानगर प्रमुख रेनु दाहालले दियालो बङ्गलाको ऐतिहासिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताउनुभयो । यहाँ अवलोकन र अध्ययनका लागि आउने पर्यटक बढ्दै गएको उहाँको भनाइ छ । 

    जाडो महिनामा तत्कालीन राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेकाले यहाँको महत्व र यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको हो । राजपरिवारले सिकार खेल्न आउँदा बस्ने ठाउँ हो यो ।

    महानगरप्रमुख प्रमुख दाहालले लामो समयदेखि नेपाली सेनाको सुरक्षामा रहेको दरबार क्षेत्रभित्र के छ भन्ने कौतुहलता मेट्दै सर्वसाधारणले अवलोकन गर्न सक्ने वातावरण मिलाइएको बताउनुभयो । व्यवस्थित व्यवस्थापनका लागि महानगरपालिका लागिपरेको उहाँले जानकारी दिनुभयो ।

    चितवन घुम्न आउने पर्यटकका लागि बसाइ लम्ब्याउन बङ्गला सहयोगी देखिएको छ । भरतपुर भ्रमण वर्षका अवसरमा महानगरपालिकाले नेपाल ट्रष्टसँग आग्रह गरेर सर्वसाधारणका लागि खुला गरेको हो ।

    यस्तो छ दियालो बंगला
    ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठककक्ष छ । बङ्गलाको भित्तामा पूर्व राजारानी तस्बिर देख्न सकिन्छ । भर्याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

    दरबारमा ५ वटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी रत्नराज्यको हो भने २ नम्बर राजा र ३ नम्बर रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । 

    दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छभने सँगै राजाको सुरक्षा गार्डका लागि ‘एडिसी क्वार्टर’ छ । केही पर सवारीसाधन राख्न ग्यारेज छ । त्यसको छेउमा रहेको पौडीपोखरीमा अहिले पानी छैन ।

    -रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?