काठमाडौं/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका सदस्यका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रम कोशी प्रदेश सभाकोे सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षत्रीले माननीय प्रदेश सभाका सदस्यहरुलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रुपमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले यस्तो कार्यक्रमको आवश्यकता बढेको बताउँदै व्यवसायीहरु ब्याजदरको कारणले पलायन हुन सक्ने जोखिम रहेको बताउनु भयो । त्यसबाट बच्नका लागि बैंकहरुको ब्याजदर स्थिर हुनुपर्ने उहाले बताउनुभयो । कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवारले वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले रावा बैंकको वर्तमान अवस्था एवं बैकले अर्थतन्त्रमा गरेको योगदानबारेमा प्रकाश पार्नु भएको थियो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर क्षत्रीले वित्तीय नीति, मौद्रिक नीति तथा करको माध्यमबाट स्रोत परिचालन, बजेट निर्माण, वित्तीय नीति निर्माणको कानूनी आधार बारेमा प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रममा पैसाको महत्त्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्त्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध, विकास आवश्यकता छनोटलगायत विषयमा प्रदेश सभा सदस्यहरुले जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले हाल ७७ जिल्लामा २ सय ९४ वटा शाखा, ३ सय १० एटिएम र ७३ एक्स्टेन्सन काउण्टर मार्फत सेवा दिइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस