तनहुँ/ पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो ।
बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित केबलकार सञ्चालनमा ल्याइएको बताउनुभयो । ‘यहाँ पहिलो चरणमा केबलकार, जीपलाइन र साइक्लिङि सञ्चालनमा आएको छ । सबै सेवा प्रयोगमा हाल ६० प्रतिशत छुट दिइएको छ’, उहाँले भन्नुभयो, ‘करिब ३ महिनामा आन्तरिक पर्यटकको चहलपहलले उत्साहित बनाएको छ ।’
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा केबलकार बन्दीपुरको पर्यटन प्रवर्द्धनमा कोशेढुङ्गा हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘देश तथा विदेशमा परिचित बन्दीपुरमा नयाँ नयाँ पर्यटकीय पूर्वाधार थपिनु राम्रो हो । यसले पक्कै पनि यहाँका पर्यटकीय सम्भावनालाई आर्थिक गतिविधिसँग जोडेर लाभ लिन सघाउ पुग्ने छ ।’
कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार पोखरेलले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरी केबलकार सञ्चालनमा ल्याइएको र अब यसको प्रचारप्रसारको काम भइरहेको सुनाउनुभयो ।
केबलकारबाट यहाँको प्रसिद्ध खड्गदेवी मन्दिरको दर्शनसमेत गर्न सकिन्छ । यसअघि वर्षको नवरात्रको ९ दिन मात्र खुला हुने मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने व्यवस्था मिलाइएकाले पनि धार्मिक पर्यटकलाई थप सहज भएको छ ।
प्रति घण्टा ५ सय यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्ने, साँझ ५ बजेदेखि राति ११ बजेसम्म ६ वटा रेष्ट्रो क्याबिन रेस्टुरेण्ट एवं आराम कक्ष सञ्चालन गर्ने योजनासमेत कम्पनीको छ ।
यहाँ जङ्गली म्युजियम, चिल्डे«न जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा आइसकेको छ । यहाँ कूल ६ अर्व २९ करोड रुपैयाँमध्ये हालसम्म ४ अर्व ३३ करोडको काम सम्पन्न भइसकेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका संरचना आगामी २ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । यस्तै निर्माणाधीन १७ तले कुइन टावर नामक ५ तारे होटल आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ ।
यस्तै, २ वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दावी गरिएको २ सय ९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिपलाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकारलगायत संरचनाको काम पनि हुने हुने कम्पनीले जनाएको छ ।
-रासस
प्रतिक्रिया दिनुहोस