१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी



  • आफ्नै खबर
  • २८ भदौ २०८१ शुक्रबार (३ महिना अघि)
  • पाठक संख्या ९७
  • बागलुङ/  कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त हुनुहुन्छ । २०७७ सालमा ड्रागन फ्रुटका १ हजार ५ सय बिरुवा लगाउनुभएका थापाले १५ महिनामा फल टिप्न थालेको बताउनुभयो ।

    कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उहाँ दङ्ग पर्नुभएको छ । १५ रोपनी जग्गामा २० लाख रुपैयाँ लगानी गरेर थाल्नुभएको ड्रागन फ्रुटखेतीबाट हालसम्म १ हजार २ सय केजी उत्पादन भइसकेको उहाँले बताउनुभयो । उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती फलफूलमध्येकै सबैभन्दा सजिलो खेती रहेको अनुभव सुनाउनुभयो । उहाँका अनुसार छोटो समयमै ४ लाखभन्दा धेरै रकम ड्रागन फ्रुटबाट आम्दानी भइसकेको छ ।

    उहाँले भन्नुभयो, ‘चितवनबाट १ हजार ५ सय बिरुवा ल्याएर खेती सुरु गरेको थिएँ, अहिले ड्रागन फ्रुटलाई प्रतिकेजी ४ सय रुपैयाँमा बजार पठाइरहेको छु, बेनी, पोखरा र बागलुङ बजारमा ड्रागन फ्रुट खपत भइरहेको छ ।’ 

    यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नु नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाइदिए राम्रोसँग सर्ने थापाले बताउनुभयो । ‘१ पटक लगानी गरेपछि निरन्तर लगानी थप्न नपर्ने, उत्पादन हुने र फाइदाका हिसाबले ड्रागन फ्रुट बुहुगुणी भएकाले बजारको सम्भावना अत्यधिक छ’, थापाले भन्नुभयो, ‘जेठदेखि उत्पादन सुरु भएको फल १५ दिन बिराएर मङ्सिरसम्म टिप्न पाइन्छ, मैले लगाएको रातो ड्रागन हो ।’

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?