२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

उडान थपिने आसमा भोजपुरका नागरिक



  • आफ्नै खबर
  • २८ भदौ २०८१ शुक्रबार (८ महिना अघि)
  • पाठक संख्या ८१
  • भोजपुर/  भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा २ दिनमात्र हुने गरेको छ ।

    २०३५ सालमा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा ७ दिन नै उडान हुने गर्दथ्यो । कुनै बेला यहाँबाट विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाडौँ हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ । भौतिक पूर्वाधारको कुनै समस्या नहुँदा पनि उडान भने थपिएको छैन । 

    नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नुपर्ने हुन्छ, अहिले भोजपुरमा हप्तामा २ मात्र उडान हुँदै आएको छ । भोजपुर विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ । 

    विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो । उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्री मारमा पर्दैै आइरहेका छन । स्थानीय सञ्जीव कार्कीले भन्नुभयो, ‘घाँसेमैदान हुँदा भोजपुरमा नियमित उडान थियो, विमानस्थल र सडक कालोपत्र भएपछि त उडान तालिका पनि धेरै हुनुपर्नेमा कम हुँदै गएको छ ।’ 

    टर्मिनल भवन जीर्ण हुँदा समस्या भएको गुनासो आएपछि पूर्वमन्त्री सुदन किरातीको पहलमा बजेट विनियोजन भएर हाल ठेक्का प्रक्रियाबाट आरबी अर्बान विल्डर्स एण्ड सप्लायर्सले विमानस्थलको टर्मिनल भवन निर्माण गरिरहेको छ । ५ करोड ४५ लाख रुपैयाँ लागत सम्झौता रहेको उक्त टर्मिनल भवन २०८१ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी अहिले काम भइरहेको छ ।

    विमानस्थलका लागि करोडौ रकम खर्च भइसक्दा समेत उडान तालिका बढ्न नसक्नु जिल्लाकै लागि दुर्भाग्य भएको स्थानीय घमचन्द्र दाहालले बताउनुभयो । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र छ । 

    जिल्लामा नै पहिलो आस्फाल्ट (मिश्रित) प्रविधिबाट पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको १६ करोड ९२ लाख रुपैयाँ लागतमा सडक कालोपत्र भएको थियो । रायमाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको सो सडकको लम्बाइ ५ किलोमिटर छ ।

    भोजपुरमा नियमित उडान र निजी कम्पनीले पनि उडान भर्ने वातावरण जिल्लाका राजनीतिक दल र नेताले मिलाउनुपर्ने माग जिल्लावासीको छ । जिल्लावासी कृष्णमाया नामाङले भन्नुभयो, ‘बजेट खर्च भएअनुसार जिल्लावासीले सेवा पनि पाउनुपर्छ, यसका लागि नेताहरू पनि जिम्मेवार बन्नुपर्छ ।’

    –रासस