कञ्चनपुर/ मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । ३ दशकअघि १ कट्ठा जग्गामा तरकारीखेती सुरु गर्नुभएका उहाँले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल हुनुभएको छ ।
उहाँले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहनुभएको छ । छोरी रविना चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेकी छन् । ‘हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ’, उर्मिलाले भन्नुभयो, ‘तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो ।’
२०५२ सालमा १ कट्ठा जग्गामा तरकारीखेती गर्नुभएका उहाँले तरकारीखेतीकै आम्दानीले २ वर्षपछि २ कट्ठा जग्गा खरिद गर्नुभयो । त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै गरेर तरकारी खेती विस्तार गरेको उहाँको भनाइ छ । उहाँको मेहनतमा श्रीमान् रामबहादुरको ठूलो सहयोग छ । तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उहाँका श्रीमान्ले किराना पसल सञ्चालन गर्नुभएको छ ।
उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्ने गर्नुभएको छ । ‘तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ’, उर्मिलाले भन्नुभयो, ‘अहिले १५ कट्ठा जग्गामा तरकारीखेती गरेका छौँ त्यसबाट सन्तोषजनक आम्दानी भइरहेको छ ।’
उहाँले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म ६० लाख रुपैयाँ खर्च भइसकेको बताउनुभयो । सबै खर्च तरकारीखेतीबाटै धानेको उहाँको भनाइ छ । उहाँले लहरे तरकारीबाटै सिजनमा २ लाख रुपैयाँ बचत हुने गरेको बताउनुभयो ।
तरकारीखेती सुरु गरेको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमै पुगेर उद्यम गरिरहेका महिलाहरुको समूह गठन ग¥यो । सहकारीले गठन गरेको तुलसी उदयदेव महिला केन्द्रमा उहाँ आबद्ध हुनुभयो । सरकारीले उक्त समूहमा आबद्ध तरकारीखेती गरिरहेका महिलाहरुलाई निःशुल्क प्राविधिक सहयोग गरेपछि खेती गर्न सहयोग पुगेको उहाँको अनुभव छ ।
उहाँले सहकारीको सहयोगपछि तरकारी उत्पादनमा वृद्धि समेत भएको बताउनुभयो । ‘हामीले परम्परागत रुपमा खेती गर्दै आएका थियौं’, उहाँले भन्नुभयो, ‘सहकारीले धेरै ज्ञान दियो त्यसले उत्पादनमा फाइदा भयो ।’ उक्त समुहमा १६ महिला आबद्ध छन ।
सहकारीले तराईको उत्पादनलाई पहाड र पहाडको उत्पादनलाई तराईसम्म ल्याउन शाखासमेत विस्तार गरेको उदयदेव सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दको भनाइ छ ।
-रासस
प्रतिक्रिया दिनुहोस