१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

जग्गा भाडामा लिएर विद्यालयले गर्यो तरकारी खेती



  • आफ्नै खबर
  • २९ भदौ २०८१ शनिबार (३ महिना अघि)
  • पाठक संख्या ५९
  • मुस्ताङ/  वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले जग्गा भाडामा लिएर तरकारीखेती गरेको छ । छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैँले उत्पादन गरेको हो । 

    विद्यालयका प्रधानाध्यापक मनबीर किसानले २ रोपनी जग्गा भाडामा लिएर रायोसाग, काउली, बन्दा, आलु, फर्सी, जुगेनी, मुला, जागरलगायत तरकारी उत्पादन गरिएको बताउनुभयो । ‘सरकारले हिमाली विद्यालयका छात्रावासका लागि मासिक ४ हजार रुपैयाँका दरले उपलब्ध गराउने अनुदान अपुग हुुन थालेपछि आफै तरकारी उत्पादन गरिएको हो’, उहाँले भन्नुुभयो, ‘फुुर्सदको समय र बिदामा शिक्षक र विद्यार्थीहरुले करेसाबारीमा काम गर्छौ ।’

    कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा २ सय जना भन्दा बढी विद्यार्थी छन् । कक्षा ४ देखि १० सम्मका ८५ जना विद्यार्थीलाई विद्यालय भवन परिसरकै छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ । 

    छात्रावासमा बस्ने ७५ जनालाई संघीय सरकारले र १० जनालाई वारागुङ गाउँपालिकाले मासिक ४ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउछ । पूर्व प्राथमिकदेखि कक्षा ३ सम्म अध्ययन गर्ने ७० जना विद्यार्थीहरुका लागि अभिभावकहरुबाट न्युुनतम शूल्क लिएर सामुदायिक छात्रावास सञ्चालन गरिएको प्रअ किसानले बताउनुभयो । 

    भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका विद्यार्थीहरुको सहजताका लागि सरकारले हिमाली विद्यालयहरुमा छात्रावास सञ्चालन गरेको छ । मुस्ताङमा ज्याला मजदुरीका लागि काम गर्न पुगेकाहरुको छोराछोरीको संख्या ८० प्रतिशत भन्दा बढी छ । 

    पछिल्लो समयको मूूल्यवृद्धिका कारण अनुदानले दाल र चामल खरिद गर्नमात्र पुगेपछि विद्यालय आफैले तरकारी उत्पादन गर्न थालेको छात्रावासका प्रमुख नारायण पौडेलले बताउनुभयो । ‘आफँै उत्पादन गर्न थालेपछि तरकारी किन्न परेको छैन’, उहाँले भन्नुभयो, ‘तरकारी खेतीका लागि विद्यालयले वार्षिक ३० हजार रुपैयाँ तिरेर जग्गा भाडामा लिएको छ ।’ 

    गत वर्ष कागखोलामा आएको बाढीले विद्यालयको २ रोपनी करेसाबारी बगरमा परिणत भएको थियो । १ वर्षपछि नयाँ ठाउँमा जग्गा खोजेर करेसाबारीलाई निरन्तरता दिएको शिक्षक पौडेलले बताउनुभयो । विद्यार्थीहरुले तरकारी खेती सम्बन्धी ब्यवहारिक ज्ञान लिन पाएका छन् । 

    कागबेनीबासीले जनशान्ति माविलाई घेकरमा उपलब्ध गराएको ५ रोपनी जग्गामा आयस्रोत जुटाउन स्याउ खेती गर्ने तयारी गरेको छ । तरकारी खेतीसँगै विद्यालयले तापक्रम अनुकुलित घर बनाएर तरकारीको बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना गरेको छ । नर्सरी स्थापनाका लागि सरकारी निकायबाट ५ लाख ५० हजार रुपैयाँ अनुदान प्राप्त भएको थियो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?