१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

‘नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो’



  • आफ्नै खबर
  • २९ भदौ २०८१ शनिबार (३ महिना अघि)
  • पाठक संख्या ४९
  • ललितपुर/  प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति देशको सांस्कृतिक वैभव भएको बताउनुभएको छ । ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेवाः संस्कृतिकै कारण मुलुक सांस्कृतिक रूपमा वैभवशाली बनेको बताउनुभएको हो । 

    प्रधानमन्त्री ओलीले नेवार समुदायका  खानाका अनेकौँ परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यताका परिचायक भएका  बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौँ वर्षमा पनि बनाउन नसकिने उल्लेख गर्नुभयो ।

    ‘राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिन्छ । संस्कृति र सभ्यता बिग्रिएमा फेरि त्यसलाई पुरानै स्वरुपमा बनाउन सकिँदैन ।’ प्रधानमन्त्रीले भन्नुभयो, ‘हाम्रो संस्कृति र सभ्यता अमर रहोस् भनेर ज्येष्ठ नागरिकहरुले कामना गरिरहनुभएको छ । संस्कृति र सभ्यतालाई युवा पुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो ।’

    प्रधानमन्त्री ओलीले १०५ वर्षीया मनमाया महर्जनले कला–संस्कृतिको संरक्षणमा मार्ग निर्देश गर्नुभएकामा आभार प्रकट गर्दै उहाँको दीर्घायुको कामना गर्नुभयो । साथै उहाँले समाजका विविध  क्षेत्रमा योगदान गरेका व्यक्ति तथा माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । 

    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मुलुकको कला, संस्कृतिको संरक्षणमा अहं भूमिका निर्वाह गरेको बताउनुभयो । बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले ज्यापू समाज र संस्कृति नेपाली सभ्यताको धरोहर भएको बताउनुभयो । 

    महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ज्यापू समाजले आफ्नो परम्परा,  भाषा, कला, संस्कृति संरक्षणमा उल्लेखनीय सहयोग पु¥याएको भन्दै समाजको सहयोगका कारण रातोमच्छिन्द्रनाथको रथयात्रा व्यवस्थित हुने गरेको बताउनुभयो । 
    ज्यापू महागुथिका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र महर्जनले यो समाजले आगामी दिनमा आफ्नो समुदायका अधिकार स्थापित गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?