२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

ऐनापहरामा पर्यटकको बढ्दो आकर्षण 



  • आफ्नै खबर
  • ३० भदौ २०८१ आईतबार (८ महिना अघि)
  • पाठक संख्या ८१
  • तनहुँ/  आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । 

    झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लागेको स्थानीय पवन नेपालीले बताउनुभयो । पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत गन्तव्यस्थल बनेको उहाँले बताउनुभयो । नेपालीले भन्नुभयो, ‘गर्मी मौसममा यात्रा गर्नेलाई विश्रामस्थलका रूपमा यो ठाउँ विकास भइरहेको छ । अन्य दिनको तुलनामा बिदामा घुइँचो हुन्छ ।’

    राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिपरेको बताउनुभयो । अध्यक्ष चुमानका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक ३ सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको अध्यक्ष चुमान बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, ‘त्यत्तिकै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।’ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । 

    पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानले बताउनुभयो । ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा १ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । 

    गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ । 

    तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार १० करोड रुपैयाँ आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गर्ने उल्लेख छ ।

    -रासस