काठमाडौं/ नेपालका लागि रोमानिका गैरआवासीय राजदूत डानिएला सेजोनोभ तानेको पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा आएको छ । वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विमोचन गरेसँगै पुस्तक नेपाली बजारमा आएको हो ।
कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले नेपालका कुनाकन्दरा घुमेर यहाँको सौन्दर्य वर्णन गरेकामा लेखिकाप्रति आभार व्यक्त गर्दै उक्त पुस्तक पढेर युरोपेलीमात्र नभइ अन्य देशका अङ्ग्रेजीभाषी पर्यटक नेपाल भ्रमणमा आउने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत तानेले नेपाल र नेपालीबाट आफू प्रभावित भएको बताउँदै यहाँको प्राकृतिक छटालाई शब्दमा वर्णन गर्न सकिन्न भन्नुभयो । फरक प्रसङ्गमा उहाँले नेपालीका निम्ति रोमानिया रोजगारीको आकर्षक गन्तव्य बनेको बताउँदै हाल उक्त मुलुकमा २० हजारभन्दा बढी नेपालीले काम गरिरहेका जानकारी दिनुभयो ।
रोमानियका अवैतनिक वाणिज्यदूत नारायण बजाजले नेपाल र नेपालीलाई पुस्तकका माध्यमबाट चिनाउन राजदूत तानेले सराहनीय काम गरेको बताउनुभयो ।
नयाँदिल्लीमा रहेर नेपाल र श्रीलङ्काको सहप्रमाणिकरणको समेत जिम्मेवारीमा रहनुभएकी राजदूत सेजोनोभले रोमानियाको कूटनीतिक सेवा प्रारम्भ गर्नुअघि अन्तरराष्ट्रिय रेडक्रसमा आबद्ध भएका बेला नेपालमा सेवा गर्नुभएको थियो ।
-रासस
प्रतिक्रिया दिनुहोस