१७ असोज २०८२ शुक्रबार | 03 Oct 2025 Fri

काठमाडौँसम्म पुग्छ भोजपुरको अकबरे खुर्सानी



  • आफ्नै खबर
  • २ असोज २०८१ बुधबार (१ बर्ष अघि)
  • पाठक संख्या १३८
  • भोजपुर/  भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ । 
    खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडाँैसम्म पनि उत्तिकै छ । 

    अकबरेको व्यावसायिक खेती गर्दै आउनुभएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले प्रतिकेजी दुई सय ५० रुपैयाँदेखि रु तीन सय रुपैयाँका दरले खुर्सानी बिक्री हुँदै आएको छ । मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु ।’ 

    खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय  वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्नेहरु पनि छन् । पौवादुङमा गाउँपालिकाका धु्रवकुमार राई त्यसैमध्येको एक हुनुहुन्छ । १० वर्षभन्दा बढी वैदशिक रोजगारीमा बिताउनुभएका उहाँ पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाउनुभएको छ । राईले गाउँमै ध्रुव कृषि तथा पशुपालन फर्म खोलेर व्यावसायिक रुपमा कृषि कर्म गर्दै आउनुभएको हो । 

    राईले भन्नुभयो, ‘वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ ।’ दुई लाख रुपैयाँ खर्च गरेर दुई हजार पाँच सय विरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राईको अनुभव छ । 

    यसअघि मकै, कोदो, आलुलगायतको खेती गर्नेहरु पनि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानको भनाइ छ । पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी सुरु गर्नुभएका मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताउनुभयो । 

    जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ । प्रदेशका पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ ।

    -रासस