१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

चुरे संरक्षण गर्न सेनाको वृक्षरोपण अभियान



  • आफ्नै खबर
  • २ असोज २०८१ बुधबार (२ महिना अघि)
  • पाठक संख्या ५८
  • पर्सा/  नेपाली सेनाको श्रीजङ्ग गणले पर्सा जिल्लामा पर्ने चुरे संरक्षणका लागि वृक्षरोपण अभियानको सुरुआत गरेको छ । गणले आज वीरगञ्ज महानगरपालिका–३१ स्थित भेडाहा खोला आसपासको खुल्ला ठाउँमा वृक्षरोपण गरेर चुरे क्षेत्रलाई संरक्षण गर्न लागेको हो । 

    श्रीजङ्ग गणका गणपति एवं प्रमुख सेनानी निराजन कटुवालले चुरे क्षेत्रमा वनजङ्गल अतिक्रमण भएकाले वृक्षरोपण गरिएको बताउनुभयो । ‘चुरे क्षेत्रको वनजङ्गल प्राकृतिक प्रकोप र मानवीय अतिक्रमणका कारणले मासिने क्रम बढिरहेको छ’, उहाँले भन्नुभयो, ‘हामीले चुरे क्षेत्रलाई नजोगाउने हो भने भविष्यका सन्तती ठूलो समस्यासँग जुध्नुपर्ने हुन्छ । त्यसैले भावी पुस्ताका लािग पनि चुरे क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्न आवश्यक छ ।’

    उक्त क्षेत्रमा भेडाहा खोलाले बर्सेनि धार परिवर्तन गर्ने गरेको छ । बाढीले जग्गा कटान गर्न थालेपछि उक्त क्षेत्र उच्च जोखिममा छ । त्यसैले संरक्षण गर्नका लागि वृक्षरोपण अभियान अघि सारिएको प्रमुख सेनानी कटुवालले बताउनुभयो । गणले यस पटक पाँच हजार बिरुवा रोप्न लागेको उहाँले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘चुरे संरक्षणका लागि वृक्षरोपण अभियान चलाएका छौं ।’ उहाँले मातहतका निकायलाई वृक्षरोपण पछि नियमित रुपमा बिरुवाको हेरचाह र संरक्षणमा ध्यान दिन निर्देशन दिनुभयो । 

    सबैया सबडिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रवेश प्रसादले विभिन्न प्रजातिका विरुवा रोपिएको जानकारी दिनुभयो । उहाँका अनुसार विशेष गरी सतिसाल, अमला, सागवान, सिसौ, लहरेपिपललगायतका प्रजातिका बिरुवा रोपिएका छन् ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?