भक्तपुर/ साँझ ढल्किँदै जाँदा मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसहरुको भीड थपिँदै गयो । मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको हजारौँको भीड दुई पोखरीसम्मै बाक्लिँदै गयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जिब्रो छड्ने जात्रा प्रत्यक्ष रुपमा हेर्न नजिकैको घरको झ्यालबाट उत्सुकताका साथ टाउको बाहिर निकालेर बस्नुभएको थियो । राति ८ बजे बाँसको चिम्टी बजाउँदै एक हूल मानिस हातेसाङ्लो बनाएर दिगु भैरब अगाडिको मञ्चमा आइपुगे । जात्रालु सबैको ध्यान त्यतै केन्द्रित भयो ।
एकछिनपछि कर्मी नाइकेलाई लिएर एक समूह आइपुग्यो । त्यसको केही क्षणमै अर्को समूहसँग थिमि लाय्कुको पमानायो ७१ वर्षीय श्यामकाजी पमा श्रेष्ठ परम्परागत पोसाकमा हनुमानढोका दरबारबाट ल्याएको राज खड्ग लिएर डबलीमा आउनुभयो । त्यसपछि द्विगुभैरव मन्दिरमा गुरुको उपस्थितिमा भैरवको पूजा गरेपछि ‘येंयाँ पुन्ही म्ये प्वा खनेगु’ जात्रालाई जिब्रो छेडेर निरन्तरता दिन मध्यपुरथिमि नगरपालिका–५ बालकुमारी निवासी वीरेन्द्रभक्त श्रेष्ठलाई परम्परागत पोसाक लगाएर डबलीमा ल्याइयो ।
मध्यपुर थिमिको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते हुने जिब्रो छेड्ने जात्रासँग यो जात्रा मिल्दोजुल्दो जात्रा भए पनि यसको बाटो भने फरक रहेको छ ।
यहाँका बासिन्दाले जयजयकार गरे । जिब्रो छेड्न तयार भएका वीरेन्द्रभक्तलाई छोएर कर्मी नायले वरिपरि अक्षता फूल छर्किएर देवीदेवता पुकारे । एक महिना अगाडि बनाएको १० इन्च लामो तीन मुख भएको सुइरो कर्मिनायले गए रातिको ८ बजे वीरेन्द्रभक्तको जिब्रो छेडिदिए । टाउकामा बाँधेको कपडामा सियो अड्काएर जिब्रो छेडेको सुइरोको तीनवटा टुप्पोलाई जिब्रोमै घुमाएपछि द्विगुभैरव अगाडिको डबलीमा हजारौँको जयजयकार गुञ्जियो ।
त्यसपछि सबैलाई नमस्कार गर्दै चन्द्राकारकोे भ्वाय् अर्थात् ४० किलो तौलको १७ वटा दीप रहेको महादीप बोकेर निस्किनुभयो वीरेन्द्रभक्त । उहाँलाई स्थानीय जात्रा व्यवस्थापन समिति, परिवार एवं टोलवासीले साथ दिइरहे । महादीप बोकेर उहाँले सुरु गर्नुभएको थिमिदेखि पशुपतिनाथसम्मको अविचलित यात्रा सफल पारेर इतिहासलाई निरन्तरता दिनुभयो ।
जात्रालाई विश्वव्यापी रुपमा ‘ब्रान्डिङ’ गर्न सकिन्छ : मन्त्री पाण्डे
पहिलोपटक प्रत्यक्षरुपमा जिब्रो छेडेको हेर्न मध्यपुरथिमिको द्विगुली पुग्नुभएका मन्त्री बद्रिप्रसाद पाण्डेले यो जात्रालाई विश्वव्यापी रुपमा ‘ब्रान्डिङ’ गरेर लाखौँ पर्यटक भित्र्याउन सकिने बताउनुभयो । मन्त्री पाण्डेले स्थानीय जात्रा व्यवस्थापन समिति र नगरपालिकासँग भन्नुभयो, ‘नेपालको संस्कृतिमा पर्यटन मिसाएर लैजानसके विकास सहज हुन्छ । यो जात्रालाई विश्वव्यापी रुपमा ‘ब्रान्डिङ’ गरेर लाखौँ पर्यटक भित्र्याउन सकिन्छ । संस्कृति र पहिचानलाई जीवन्त बनाएर संरक्षण गर्नु आवश्यक छ ।’
मन्त्री पाण्डे, प्रतिनिधिसभाका सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, पशुपति विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जात्रास्थलमै पुगेर जिब्रो छेडेको प्रत्यक्ष अवलोकन गर्नुभएको थियो ।
इतिहासलाई निरन्तरता दिएका वीरेन्द्रभक्त
वीरेन्द्रभक्तले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप बोकेर चोडे टोलको कामदेव, महालक्ष्मी, नीलवर्ण गणेश, सिद्धिकाली मन्दिर पुग्नुभयो । निगु पुखुः, लाय्कू हुँदै क्वालाखु (बालकुमारी) स्थित थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), इन्द्रायणी, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक पुग्नुभयो ।
सानोथिमि, मनोहरा खोला पुल, पुरानो सिनामङ्गल, खहरेचोक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडिको सडक, गुह्येश्वरी मन्दिर हुँदै पशुपतिनाथ मन्दिर प्रवेश गरी पशुपतिनाथको परिक्रमा गर्दै दर्शन गर्नुभयो । मध्यराति पशुपति मन्दिरमा वीरेन्द्रभक्तको जिब्रोमा मन्त्री पाण्डेले चाँदीको कचौरामा रहेको तेल सुनको चम्चाले झिकेर हालिदिनुभयो ।
पशुपतिनाथको दर्शनपछि सोही मार्ग भएर फर्कर्दै सानोथिमिस्थित तीनधारा ब्यारेक चोकबाट भित्र हुँदै नगदेश, गार्चा चोक, बहाखाबजार भीमसेन मन्दिर, चपाचो, दिगुटोल, निगुपुखुः, लाय्कू हुँदै क्वालाखु हुँदै सयौँ स्थानीयलाई अगाडि पछाडि लगाएर जय जयकार गर्दै १७ किलोमिटरको यात्रा पार गर्दै थिमि आएर बालकुमारी मन्दिरमा सियो झिकेर नित्यनाथको माटोे जिब्रोमा राखेपछि मध्यराति करिब २ः३० बजे जात्रा सम्पन्न गर्दै वीरेन्द्रभक्तले थिमिको इतिहासलाई निरन्तरता दिनुभयो ।
उहाँको खाली खुट्टाको पैदल यात्रालाई जात्रा व्यवस्थापन समिति, परिवार तथा आफन्त, टोलवासी र मध्यपुरथिमिका सयौँले पशुपति मन्दिरसम्म जय जयकार गर्दै पैदल यात्रालाई साथ दिए । जात्रामा हौसला प्रदान गर्न मध्यपुरथिमि प्रमुख सुरेन्द्र श्रेष्ठदेखि उपप्रमुख विजयकृष्ण श्रेष्ठ समेत थिमिदेखि पशुपतिसम्म नै पुगेर साथ दिनुभयोे ।
लोप भइसकेको जात्रालाई पुनर्जीवन दिए थिमिवासीले
यसअघि २०७५ मा जिब्रो छेडाएर आफ्नो टोल घुम्नु भएका बालकरामले गत वर्ष दोस्रोपटक जिब्रो छेडाएर इतिहास रच्न सफल हुनुभयो । यस वर्ष वीरेन्द्रभक्तले भन्नुभयो, ‘थिमीको ऐतिहासिक यो जात्रालाई जीवन्त दिने अठोट गरे थिमिको इतिहासलाई निरन्तरता दिने लक्ष्यका साथ जिब्रो छेडाएर पशुपतिसम्म जाने अठोट गरेको थिएँ, त्यो अठोट पूरा गरेँ । मेरो आँटलाई सबैको सहयोग साथ र पशुपतिनाथ तथा बालकुमारीकोे शक्तिले मेरो यात्रा पूरा भयो ।’
देशमा आउन सक्ने कुनै पनि सङ्कट, प्राकृतिक प्रकोप, डर, त्रास, भय रोक्दै पुर्खाले सिर्जेको संस्कृतिलाई बचाउन आफूले जिब्रो छेडेर पशुपतिसम्मको यात्रा पूरा गरेको उहाँले बताउनुभयो । पुर्खाले पूर्वमा काभ्रे पनौतीसम्म, उत्तरमा चाँगुनारायण मन्दिरसम्म र पश्चिममा पशुपतिनाथ मन्दिरसम्म जिब्रो छेडेर महादीप बोकेर गएको भन्ने सुन्दै आएको भए पनि यसपटक आफूले पशुपतिसम्मको यात्रा पूरा गरेर पुर्खाले गरेका कठिन यात्रा सम्भव थियो भन्ने सन्देश दिन सफल भएको उहाँको भनाइ छ ।
‘जिब्रो छेडेर महादीप बोकेर थिमि घुम्दा नै निकै थाकिन्छ, त्यसमाथि खाली खुट्टाले पशुपतिसम्म महादीप बोकेर परिक्रमा गरेर फर्किन सफल हुनु आफैँमा अब एउटा इतिहास बन्यो, यसले युवा र नयाँ पुस्ताका लागि सकारात्मक सन्देश दिएको छ ।’
दुई दशक रोकिएर लोपोन्मुख अबस्थामा पुगेकोे यो जात्रालाई २०७४ सालमा उहाँ वीरेन्द्रभक्तले नै जिब्रो छेडाएर पुनर्जीवन दिनुभयो । तर, त्यो वर्ष जिब्रो छेडेर पशुपतिनाथसम्मको यात्रा नगरी थिमि परिक्रमा गरिएको थियो । त्यसपछि २०७५ सालमा बालकरामले जिब्रो छेडाउनुभयोे ।
विसं २०७६ देखि कोरोना महामारीका कारण रोकिएको जात्रा २०७९ साल पुनः वीरेन्द्रभक्तले दोस्रो पटक जिब्रो छेडाएर पुनः निरन्तरता दिनुभयो । यसवर्ष तेस्रो पटक उहाँले जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म र पशुपतिदेखि मध्यपुरथिमिसम्मको यात्रा पनि पुरा गर्नुभयो ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बीरेन्द्रभक्तले कठिन यात्रा पुरा गरेको बताउदै भन्नुभयो, ‘त्यति ठूलो सियोले जिब्रो छेडाएर काठ र बाँसबाट बनेको लहरै बलेको १७ वटा दीपसहितको करिब ४० किलोको महादीप बोकेर पशुपतिसम्म पुगेर फर्किनु कम चुनौती र कठिन काम होइन, यसलाई गतवर्ष बालकराम र यसवर्ष बीरेन्द्रभक्तले पूरा गरेर थिमिको शान उच्च राख्न सफल हुनुभयो । उहाँको यो साहसले भावी पुस्तालाई जात्राप्रति प्रेरित गर्ने र नयाँ पुस्तामा जात्रालाई निरन्तरता दिन आँट प्रदान गर्ने विश्वास लिएको छु, नगरपालिकाले यस्ता मूर्त–अमूर्त कला, संस्कृतिको संरक्षणमा नियमित सहयोग गर्नेछ ।’
नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वभर फैलाउन सफल भएको बताउनुभयो । उहाँले नेपालमा मात्रै नभएर विश्वमै अनौठो मानिने यो जात्रालाई यहाँको ठूलो विशेषता हो भन्दै उपप्रमुख श्रेष्ठले ३५० वर्ष भन्दा अगाडिदेखि यो जात्रालाई निरन्रता दिन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
उपप्रमुख श्रेष्ठले भन्नुभयो, ‘जिब्रो छेडेर महादीप बोकेर थिमि घुम्दा नै निकै थाकिन्छ, त्यसमाथि खाली खुट्टाले पशुपतिसम्म महादीप बोकेर परिक्रमा गरेर फर्किन सफल हुनु आफैँमा अब एउटा इतिहास बन्यो, यसले युवा र नयाँ पुस्ताका लागि सकारात्मक सन्देश दिएको छ ।’
यस्तो छ पौराणिक कथन
परापूर्वकालमा मध्यपुरथिमिका बासिन्दामा विभिन्न रोग, डर र भयले त्रसित बनाई बस्ती आसपासमा भूत, प्रेत र पिचासले दुःख दिए । यस्तो भयलाई पार लाउन एक तान्त्रिकले आराध्येदेवी श्री बालकुमारी माईको साधना गरी उहाँको दिव्य उपदेशअनुसार भाद्र शुक्ल पूर्णिमाका दिन एक साहसिक व्यक्तिलाई फलामको सियोले जिब्रो छेडेर नगर परिक्रमा गराइयो ।
ती साहसिक व्यक्तिले आफ्नो बस्तीबाट भूत, प्रेत, पिचास भगाउन र बस्ती नजिकका अर्को बस्तीहरु चाँगुनारायण, गुह्येश्वरी, पशुपतिसम्म रहेका भूत, प्रेतले पनि दुःख नदिऊन् भनेर जिब्रो छेडेर थिमिबाट चाँगुनारायण, पशुपतिसम्मका बस्तीहरुमा महादीप बोकेर जाने गरेको पौराणिक कथन रहेको जात्राका नायपमा श्यामकाजी पमा श्रेष्ठ बताउनुहुन्छ ।
यो ऐतिहासिक जात्रा २०२६ सालदेखि लोप भइसके पनि २०५० सालदेखि मध्यपुरथिमि चोडेटोल निवासी कृष्णनानी श्रेष्ठले तीनपटक जिब्रो छेडेर जात्रालाई जीवन्तता प्रदान गर्नु भएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ बताउनुहुन्छ । जिब्रो छेड्ने जात्रामा थुप्रै व्यक्तिलाई आफैँले भोज खुवाउनुपर्ने सबै खर्च व्यवस्थापन आफैँले गर्नुपर्दा हुने आर्थिक अभावले जात्रा लोपोन्मुख अवस्थामा पुगेको उहाँको भनाइ छ ।
वर्षौं पहिले एकै पटक १७ जना व्यक्तिले, एकै परिवारको ६ जनालेसम्म जिब्रो छेडेको पाइएको छ
२०७४ सालदेखि स्थानीय युवाहरु, संस्कृतिप्रेमी अग्रजहरु तथा जननिर्वाचित प्रमुखहरु सक्रिय भई जात्राको सम्पादन र व्यवस्थापन गर्न येँया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरेर जात्रालाई व्यवस्थित गर्ने क्रममा मध्यपुरथिमि–४ बालकुमारी निवासी वीरेन्द्रभक्त गजु श्रेष्ठले २०७४ र २०७९ सालमा जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको उहाँले जानकारी दिनुभयो ।
जात्राका लागि एक महिनाअगाडि नै नातु (सुइरो) बनाउन पूजा लिएर नकर्मीको घरमा खबर गर्ने परम्परा छ । नकर्मीले तीन तिर मुखभएको नातु बनाई एक महिना शुद्ध तोरीको तेलमा डुबाएर राखिन्छ ।
त्यसपछि जिब्रो छेड्नुभन्दा आठ दिन अगाडि द्यः दुसालेगु भनी बालकुमारी मन्दिरमा ११ वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) दिइन्छ । जिब्रो छेड्ने जात्राको चार दिनअघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरबारमा गएर ल्याएको राज खड्गलाई जात्रामा डबलीमा राखिन्छ । इन्द्रजात्राको दिनमा बालकुमारीमा रातो भालेको बलि दिएर पूजा गरी भोज खाइन्छ ।
येँया पुन्हीको दिनमा दुतानं (जामा) लगाएर बालकुमारीमा पूजा गरिन्छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिन साँझ बालकुमारीदेखि दिगुभैरवसम्मको स्थानमा बत्ती दिनु पर्छ । त्यसपछि दिगुभैरव मन्दिरमा गुरुको उपस्थितिमा भैरवको पूजा गरेसँगै जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ ।
जात्राको दिन सयौँ जनमानससामु जामनः गुरु, नायःपमा, नकर्मी नाइकेको उपस्थितिमा नकर्मीले बनाएको १० इन्च लामो सुइरो कर्मी नायाले जिब्रो छेडेर महादीप बोक्न लगाई उहाँको इच्छाअनुसार नगरपरिक्रमा गराउने प्रचलन छ । सुइरो निकालिसकेपछि जिब्रोमा भएको प्वालमा नासः द्यः (नित्यनाथ) देवता परिसरको माटो राखिन्छ ।
मन्दिर परिसरमा ठोकेको सुइरोलाई हेर्दा यो जात्रा करिब ३५० वर्षभन्दा पुरानो हो भन्ने यकिन गर्न सकिने नाय पमा श्यामकाजी बताउनुहुन्छ । वर्षौं पहिले एकै पटक १७ जना व्यक्तिले, एकै परिवारको ६ जनालेसम्म जिब्रो छेडेको पाइएको उहाँ बताउनुहुन्छ ।
बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिने, त्यसपछि जात्रामा सहभागी व्यक्तिहरुलाई भोज खुवाउने, भोलिपल्टको बिहान नातु पूजा भनी जिब्रो छेडेको सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोक्ने र द्यः लित तवनेगु भनी विसर्जन पूजा गर्न गरिन्छ ।
जिब्रो छेड्ने व्यक्ति मध्यपुरथिमिको श्रेष्ठ थरकै हुनुपर्ने, आकाशदीप बोक्ने मानन्धरहरु नै हुनुपर्ने प्रचलन छ । यस्तै, नातु बनाउने नकर्मी थरका व्यक्ति, राजखड्ग लिन जाँदा खड्गीहरुले नाखी बाजा बजाउने र कुस्ले (कपाली) ले मुहाली बजाउने परम्परा रहेको छ । मध्यपुर थिमिको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते हुने जिब्रो छेड्ने जात्रासँग यो जात्रा मिल्दोजुल्दो जात्रा भए पनि यसको बाटो भने फरक रहेको छ ।
-रासस
प्रतिक्रिया दिनुहोस