काठमाडौं/ सर्वसाधारणका लागि खुला गरिएपछि आज पहिलो दिन धरहरा चढ्नेहरुको भीड लागेको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीका अनुसार धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ ।
उहाँले सरकारले संविधान दिवसका अवसरमा आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । एकाइका प्रमुख अधिकारीले २०७२ सालको भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो । तर पहिलो दिन नै एक हजार दुई सय जानाले धरहरा चढेकोे आधिकारिक रेकर्ड छ ।’ उहाँका अनुसार कतिपय मानिसहरु विना टिकट नै धरहरा चढेका थिए । उहाँले भन्नुभयो, ‘आज अत्यधिक भिड भयो । भोलिदेखि व्यवस्थितरुपमा छ सय जनाका लागि मात्रै चढ्न दिन्छौँ ।’
सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमण कन्स्ट्रक्सन ज्वाइन्ट भेञ्चर कम्पनीलाई ठेक्का दिएको थियो । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।
२०७५ साल असोज १४ गते नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु भएको थियो । २०७८ वैशाख ११ गते प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गर्नुभएको थियो ।
धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओबी डट एनपी’ वेबसाइट सञ्चालन गरेको छ ।
१८८२ सालमा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गर्नुभएको थियो । १९१३ सालमा धरहरा चट्याङ परी भत्किएको थियो भने १९२३ सालमा धरहराको जीर्णोद्धार गरिएको थियो ।
१९९० साल माघ २ मा महाभूकम्पमा परी धरहरा पुनःभत्किएको थियो । १९९२ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर राणाद्वारा पुनःनिर्माण गरिएपछि धरहरा ११ तलाबाट नौ तलामा सीमित भएको थियो ।
-रासस
प्रतिक्रिया दिनुहोस