१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

डेढ करोडमा बनेको पशु अस्पताल सञ्चालनको प्रतिक्षामा



  • आफ्नै खबर
  • ५ असोज २०८१ शनिबार (२ महिना अघि)
  • पाठक संख्या ६३
  • नवलपरासी पश्चिम/  सुनवल नगरपालिका‐२ रजहवामा एक करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन । कृषकहरु ठेकेदारले काम सम्पन्न गरेर नगरपालिका तथा वडा कार्यालयलाई दुई वर्षअघि नै हस्तान्तरण गरेको अस्पताल सञ्चालनको प्रतिक्षामा छन् । 

    जनप्रतिनिधिहरूबीच केही प्राविधिक तथा व्यवस्थापकीय पक्षका बारेमा कुरा नमिलेपछि अस्पताल प्रयोगमा आउन नसकेको सुनवल‐२ का वडाध्यक्ष राजेन्द्र यादवले बताउनुभयो । उहाँले अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेको गुनासो गर्नुभयो । 

    ‘अस्पताल भवन प्रयोगमा नआउँदा यहाँ फलाम र भित्तामा लगाएको रङमा खिया लाग्न थालिसकेको छ । दिन प्रतिदिन भवनको अवस्था बिग्रिन थालेको छ’, उहाँले भन्नुभयो, ‘सङ्घीय सरकार र वडा कार्यालयको संयुक्त लगानीमा बनेको भवन प्रयोगमा नआउँदा कम्पाउन्डभित्र झारपात उम्रेर जङ्गल जस्तै बनेको छ ।’

    सुनवल नगरपालिकाकी अध्यक्ष विमला अर्यालले अस्पताल सञ्चालनका लागि थप कर्मचारीको आवश्यकता भएकाले त्यसको व्यवस्थापन हुननसक्दा केही समस्या रहेको बताउनुभयो । उहाँले यहाँ देखिएका समस्या समाधानका लागि छलफल भइरहेकाले चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुुभयो । अस्पताल सञ्चालन नहुँदा यहाँका किसानले घरपालुवा जनावर बिरामी हुँदा उपचारका लागि समस्या भोग्नु परिरहेको छ ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?