२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

पर्यटन जनशक्तिको क्षमता वढाउने यभियानमा पर्यटन बोर्ड 



  • आफ्नै खबर
  • ७ असोज २०८१ सोमबार (७ महिना अघि)
  • पाठक संख्या ८९
  • काठमाडौं/  नेपालका पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई बर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले आज एउटा पहलको शुरुवात गरेको छ ।

    नेपाल पर्यटनबोर्डको सभाकक्षमा आयोजना गरिएको ‘इम्पावरिङ फ्युचर टुरिज्म लिडरिज्म शेयरिङ नलेज ग्रोथ’ शीर्षकको मासिक शृङ्खलाको उट्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थीहरू सहभागी थिए ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले कार्यक्रमको महत्वलाई जोड दिँदै पर्यटनको भविष्य प्रवर्द्धन गर्ने पहल भएको वताउनु भयो । यो अभियानमा पर्यटन क्षेत्रका विद्यार्थी र उद्योगीहरूको साथको अपेक्षा गरेको उहाँको भनाई थियो । अहिलेको पर्यटनको प्रवृत्ति एक्सपिरियन्स ट्रोभलको रहेकोमा उहाँले जोड दिनुभयो । 

    कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले यो कार्यक्रमले बिद्यार्थीहरूलाई जागिर उन्मुख हुने भन्दा पनि उद्यमी बन्न जोड लगाउनुपर्ने बताउनुभयो । बोर्डका वरिष्ठ प्रवन्धक विमल कँडेलले नेपालका अनुपम पर्यटकीय सम्पदाहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । यसैगरी कार्यक्रममा सुभश्री कलेजका प्राचार्य मनिता ओलीले युवा जनशक्तिले हरेक समय केही न केही सिकिरहनु पर्ने र यस कार्यक्रमले पनि सबैलाई सिक्ने मौका दिएको बताउनुभयो ।   

    यस पहलले उद्योग विशेषज्ञता र उदीयमान प्रतिभाहरू बीचको खाडललाई कम गर्दै आवश्यक वातावरण सिर्जना गर्नेछ भन्ने आशा बोर्डको रहेको छ । साथै यसले सिकाइ, सहकार्य र नवप्रवर्तनलाई बढावा दिनेछ। यस सत्रले अनुभवी पेशा व्यवसायीहरु, शिक्षकहरू, र विद्यार्थीहरूलाई पर्यटनमा नवीनतम प्रवृत्तिहरू छलफल गर्न र भविष्यका अवसरहरू अन्वेषण गर्न अभिप्रेरित गर्ने बोर्डले जनाएको छ ।

    सहभागी हुन चाहने अन्य कलेज, शैक्षिक संस्थाहरूले यस कार्यक्रममा संलग्न हुनको लागि पर्यटन सम्पदा तथा संसाधन विकास महाशाखाको पर्यटन क्षमता बिकास एकाइमा सम्पर्क गर्नुपर्ने बोर्डले जनाएको छ । कार्यकारी प्रमुख जोशीले भन्नुभयो, ‘यो पहल ज्ञान हस्तान्तरणको लागि मात्र होइन, यो हाम्रो पर्यटन उद्योगको भविष्यलाई आकार दिने युवा नेताहरू बनाउने अभियान हो ।’