१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

विश्व पर्यटन दिवसबाट कीर्तिपुरमा साप्ताहिक निःशुल्क पदयात्रा



  • आफ्नै खबर
  • ९ असोज २०८१ बुधबार (२ महिना अघि)
  • पाठक संख्या ७३
  • काठमाडौं/  विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँ उपत्यकाको सांस्कृतिक नगरी कीर्तिपुरमा साप्ताहिक निःशुल्क पदयात्रा कार्यक्रम आयोजना हुने भएको छ । पदयात्रा मिति २०८१ असोज ११ गते आयोजना हुनेभएको हो । 

    कीर्तिपुर स्वयंसेवक समाजको आयोजना तथा स्थानीय संघ–संस्थाहरुसँगको सहकार्यमा यस सम्पदा पदयात्रा नियमित रुपमा हुने प्रबन्ध गरिएको जनाइएको छ । सहभागीहरूले कीर्तिपुरको समृद्ध सम्पदा मार्गबाट यसको ऐतिहासिक सम्पदाको मार्गदर्शन गर्दै पदयात्रा गर्न सक्नेछन् ।

    पहिलो पदयात्रा बर्खाहिटी नयाँबजार, कीर्तिपुरबाट सुरुहुने पदयात्रा चिलञ्चो बिहार, ल्हो देग, देपुखु, बाघभैरब हुँदै पदयात्रीहरुले उमामहेश्वर मन्दिरसम्म करिब एक घण्टाको हुनेछ । आगामी दिनहरुमा चोभार, पांगा, नगाउँ आदि स्थानहरुमा पनि पदयात्रा बिस्तार गरिने उल्लेख छ ।

    कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदी पदयात्राका लागि आवश्यक पर्ने म्याप अपडेट गर्ने, नयाँ जानकारी राख्ने कार्य पनि यी यात्राहरुको क्रममा गरिने बताउनुहुन्छ । स्थानीय गाइडहरुलाई आवश्यक तालिमहरुको संयोजन गरिने कीर्तिपुर गाइड एसोसियसनका उपाध्यक्ष विविशा शाक्यले बताउनुभयो ।

    आन्तरिक तथा बाह्य पर्यटकलाई कीर्तिपुरको सम्पदा, इतिहास र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिका र स्थानीय संस्थाहरुको सहकार्यमा अभियान कै रुपमा अघि बढ्नु सुखद भएको र सम्पदा पदयात्राका सहभागीलाई स्वागत गर्न कीर्तिपुर आतुर रहेको नगरपालिकाका कार्यवाहक प्रमुख तथा उपमेयर शुभलक्ष्मी शाक्यले बताउनुभयो । 

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले कीर्तिपुरको स्थान पहाडी सहरको रुपमा रहेको र आफैँमा पर्यटन ब्रान्ड रहेको बताउनुभयो । यस स्थानबाट देखिने मनमोहक दृश्यहरूले कीर्तिपुरको विशेष महत्व राख्ने र यस किसिमको पदयात्राले कीर्तिपुरलाई पर्यटन मानचित्रमा स्थापित गराउने उहाँको भनाई थियो । 

    अघिल्लो वर्ष कीर्तिपुर स्वयंसेवक समाजको आयोजनामा स्थानीय गाइडहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले तालिम दिइएको थियो । तालिममा कीर्तिपुरको कथा कथनको कलाका विषयमा ३० जना कीर्तिपुर गाइड संघका सदस्यहरू र अन्य सहभागीहरु रहेका थिए ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?