काठमाडौं/ अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ ।
जलशायमा पानीको सतह बढी भएर स्पिल वेबाट बाहिर जानथालेपछि शनिबार बिहान ५.४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ ।
पानीको सतह बढ्नथालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत्गृहलाई निरन्तर रुपमा पूर्ण क्षमता चलाइएको छ । विद्युत्गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो । जलाशयमा पानीको तह समुद्र सतहबाट १५३०.९३ मिटर पुगेको छ ।
केन्द्र प्रमुख तारादत्त भट्टकाअनुसार, पानीको तह १५३०.३५ पुगेपछि बाँधका ढोका आंशिक रुपमा खोलिएको हो । कुलेखानीको जलाधार क्षेत्रमा हावाहुरीसहित अविरल वर्षा परिरहेकाले दुईवटै ढोका पूर्ण रुपमा खोल्नु पर्ने अवस्था आउन सक्ने प्रमुख भट्टले उल्लेख गर्नुभयो ।
बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीमा बहाव बढ्ने हुँदा त्यस वरवर क्षेत्रका स्थाानीय बासिन्दाहरु समयमै सुरक्षित र उच्च सतर्कतासाथ रहन केन्द्रले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस