१९ असोज २०८२ आईतबार | 05 Oct 2025 Sun

कतारका लगानीकर्ता नेपालमा लगानी गर्न तयार



  • आफ्नै खबर
  • १७ असोज २०८१ बिहिबार (१२ महिना अघि)
  • पाठक संख्या १४७
  • काठमाडौं/  श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको वताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । 

    ‘यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन’, कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भन्नुभयो, ‘हामी थप लगानीकर्ताहरुलाई पनि प्रोत्साहित गर्नेछौ ।’ 

    नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष थानी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न वैठकमा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको हो । 

    कतारका अमीर सेख तमीम बिन हमाद अल थानी को गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । 

    काउन्सिलको यस पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ आफ्नो नेतृत्वमा सदस्य नियुक्त गरि काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राख्नुभयो । आगामी बर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि वैठकमा भयो । 

    वैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरुमा गरिएको सुधारले लगानीको अवसर जुटदै गएको वताउनुभयो । साथै उहाँले कतारका लगानीकर्ताहरुलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप बिकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आव्हान गर्नुभयो । 

    यसैगरि कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता पनि जनाउनुभएको जनाइएको छ ।