१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

ज्यान गुमाउनेका परिवारलाई घरमै पुगेर सहयोग



  • आफ्नै खबर
  • १९ असोज २०८१ शनिबार (२ महिना अघि)
  • पाठक संख्या ६४
  • धादिङ/  एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ ।

    पानी परिरहेका बेला शरीर भिज्नबाट जोगिन ओडारमुनि ओत लागेका बेला ओडार नै खस्दा पुरिएका धादिङको बेनीघाट रोराङ गाउँपालिका– ६ का जनता भनिने श्यामकुमार चेपाङ र शन्तबहादुर चेपाङ तथा घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका थाक्रे गाउँपालिका– ६ का कान्छा राईको परिवारलाई उनीहरुको घरमा नै पुगेर राहत उपलब्ध गराइएको हो ।

    जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले मृतक तीनै जनाको घरमा पुगेर परिवारलाई दुई लाख रुपैयाँका दरले राहत रकम वितरण गरेको हो । सरकारले तय गरेको स्वीकृत मापदण्डका आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘राहत रकमको सदुपयोग होस् भनेर पालिकाको रोहवरमा वितरण गरेका छौँ । यो राहत रकम थोरै भए पनि आफन्तको घाउमा मलमको काम गर्ने अपेक्षा गरेका छौँ ।’

    त्यस्तै, निरन्तरको वर्षासँगै गाउँकै खोलामा आएको भलले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की छ वर्षीया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको अर्यालले जानकारी दिनुभयो । कागजात जुटाउने तथा प्रक्रियामा रहेकाले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने उहाँको भनाइ छ ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?