१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

तालबाराही मन्दिर पुनःनिर्माण गरिँदै



  • आफ्नै खबर
  • २२ असोज २०८१ मंगलबार (२ महिना अघि)
  • पाठक संख्या ७६
  • कास्की/  पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ । २०७२ सालको भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुनःनिर्माणलाई अगाडि बढाएको थियो । 

    घटस्थापनाको दिन पारेर पूर्वपट्टिको ढोका राखिएको छ । पुरानै स्वरुप प्यागोडा शैलीमा पुनःनिर्माण गर्न लागिएको उक्त मन्दिरका झ्याल, ढोकामा बुट्टा भर्न भक्तपुरबाट ६ कालीगढ मगाएर काम भइरहेको छ । 

    दसैँमा पुनःनिर्माण सक्नेगरी काम अगाडि बढाइएको भए पनि मन्दिर पुनःनिर्माणको विषयलाई लिएर पुरातत्व विभाग र समितिको कुरा बाझिएपछि काम ढिला भएको थियो । पछिल्लो समय पुरातत्व विभागको निर्णयअनुसार नै पुनःनिर्माणलाई अगाडि बढाइएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीले जानकारी दिनुभयो । 

    तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले दुई करोड रुपैयाँ र पुरातत्व विभागले २५ लाख रुपैयाँ गरी कूल दुई करोड २५ लाख रुपैयाँको लागतमा मन्दिरको पुनःनिर्माण सक्नेगरी योजना अगाडि बढाइएको खत्रीले जानकारी दिनुभयो । समितिले १० करोड रुपैयाँको लागतमा गुरुयोजना नै तयार गरी मन्दिर पुनःनिर्माणलाई अगाडि बढाएको भए पनि पुरानो स्वरुपमा मन्दिर नबन्ने भन्दै पुरातत्व विभागले कामलाई रोकिदिएको थियो । 

    अबको छ महिनाभित्र मन्दिर पुनःनिर्माणको काम सम्पन्न गर्नेगरी अगाडि बढाइएको जानकारी कोषध्यक्ष खत्रीले दिनुभयो । तालको बीचमा मन्दिर भएकाले वर्षात्को समयमा काम गर्न कठिन भएकाले काम ढिला भएको उहाँले बताउनुभयो । 

    फेवातालको बीच भागमा तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिरमा स्वदेशी तथा विदेशी दर्शनार्थीको बाह्रै महिना घुइँचो लाग्ने गर्छ । स्वदेशी तथा विदेशी दर्शनार्थीले दानस्वरुप प्रदान गरेको चार करोड ७० लाख रुपैयाँ अहिले समितिको बैंक खातामा छ । मन्दिरमा विशेषगरी दसैँको कोजाग्रत पूर्णिमाका दिन दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ । 

    कास्कीका तत्कालीन राजा कूलमण्डन शाहले खरको झुप्रो बनाई मन्दिर स्थापना गर्नुभएको इतिहास रहेको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका सचिव ध्रुव बरालले बताउनुभयो । ‘मन्दिर १४४७ सालमा अस्तित्वमा रहेको अभिलेख छ’, सचिव बरालले भन्नुभयो, ‘प्राचीनकालमा माटोको ढिस्कोमा एउटा शिला रहेको र त्यहीँ मन्दिर स्थापनागरी पूजा गरिँदै आएको अभिलेखमा छ ।’ 

    मन्दिर पुनःनिर्माणका क्रममा सकेसम्म त्यहीँका ढुङ्गा र काठ प्रयोग गर्ने भनिएको भए पनि ढुङ्गा काम नलाग्ने अवस्थामा रहेको र काठ भने केहीमात्रामा प्रयोगमा आएका सचिव बरालले बताउनुभयो । मन्दिर पुनःनिर्माणका लागि मन्दिरमा आउने दर्शनार्थीले दान सहयोग गरिरहेको उहाँले सुनाउनुभयो । 

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?