११ साउन २०८२ आईतबार | 27 Jul 2025 Sun

मेलम्चीको पानी आजै काठमाडौँ ल्याइने



  • आफ्नै खबर
  • २२ असोज २०८१ मंगलबार (१० महिना अघि)
  • पाठक संख्या १२४
  • काठमाडौं/  मेलम्चीको खानेपानी आजै काठमाडौँको सुन्दरीजल ल्याइने भएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता सफल भएपछि आजै मेलम्चीबाट पानी काठमाडौँ ल्याउन लागिएको हो ।

    खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी पठाउने विषयमा सहमति भएको थियो । उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याउने तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. रत्नप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘काठमाडौँमा मेलम्चीबाट पानी पठाउने विषयमा  खानेपानीमन्त्री र सङ्घर्ष समितिबीच सहमति भएको छ । आजै मेलम्चीको पानी सुन्दरीजल ल्याउने तयारी हुँदै छ ।’ दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो ।

    वार्तापछि बाढीपीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौँ  उपत्यकामा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । सुरुङभित्र पानी पठाएपछि पानी आजै काठमाडौँ आइपुगेर वितरण प्रणालीमा जोडिने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘मेलम्ची खानेपानी विकास समितिले काठमाडौँ पानी ल्याउन पहिलेदेखि तयारी गरेकाले पानी छिटो आउनेछ ।’ २०७८ सालअसार १ गते तथा साउन १६ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति गरेपछि काठमाडौँमा हिउँदयाममा पानी ल्याउने र बर्खामा सुरुङ बन्द गर्ने गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।

    -रासस