१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

भेडा, च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन् : पशु चिकित्सक



  • आफ्नै खबर
  • २४ असोज २०८१ बिहिबार (२ महिना अघि)
  • पाठक संख्या ८२

  • कास्की/  पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ । पोखरामा वर्षौंदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा भेडा ल्याउने गरिएको छ । 

    यसबाहेक दसैँमा खसीबोकाकोसमेत राम्रो बिक्रीवितरण हुने गर्दछ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका अनुसार दसैँमा १५ हजारको सङ्ख्यामा भेडा, च्याङ्ग्रा तथा खसीबोका चार हजार हाराहारीमा बिक्री गर्न ल्याइएको हो । यस वर्ष गत वर्षभन्दा तीन हजार बढी भेडा, च्याङ्ग्रा ल्याइँदैछ । गत वर्ष आठ हजार पाँच सय खसीबोका ल्याइकामा यस वर्ष घटेको छ ।

    भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले भन्नुभयो, ‘हामीले लिएको तथ्याङ्कअनुसार यस वर्ष १९ हजारको हाराहारीमा पोखरामा खसीबोका र भेडाच्याङ्ग्रा पोखरामा बिक्रीका लागि ल्याइएको छ । मुस्ताङ र म्याग्दीस्थित भेटेरिनरी अस्प्तालमा कति बाहिरिए भन्ने तथ्याङ्क र बजारमा व्यापारीसँग जानकारी लिएका छौँ ।’

    पोखरामा मुख्यगरी मुस्ताङ, डोल्पा, रोल्पाबाट भेडा, च्याङ्ग्राको आयात हुने गर्दछ । त्यसबाहेक सुदूरपश्चिमका बझाङ, मुगु, बाजुरालगायत क्षेत्रबाट यहाँ बिक्रीका लागि ल्याउने गरिएको छ ।

    पोखरा खसीबोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्ष खसी÷बोकाको बिक्री घटेको बताउनुभयो । माग कम भएपछि आफूहरुले आयातसमेत घटाएको उहाँले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘अघिल्ला वर्षमा हामीले आठ/नौ हजारजति खसीबोका ल्याउने गरेका थियौँ । तर अहिले माग छैन । पहिलाकोभन्दा आधामात्र ल्याएका छौँ ।’

    पोखरामा तनहुँ, गोरखा, पाल्पा, अर्घाखाँची र नवलपरासीबाट मुख्यगरी खसीबोका आयात हुने गर्दछ । केही व्यापारीले दाङ र सुर्खेतबाट ल्याउने गरेका छन् । दसैँतिहारका लागि भनेर पोखरामा बिक्रीका लागि ल्याइएका भेडाच्याङ्ग्राको अनुगमन तथा स्वास्थ्य परीक्षणसमेत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र पोखरा महानगर पशुसेवा शाखाले संयुक्त रुपमा अनुगमन तथा भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरेका हुन् ।

    पोखरा महानगरपालिका–१ सिमपानी तथा जौवारीमा पशु चिकित्सकसहितको प्राविधिक टोलीले नमुनाका रुपमा च्याङ्ग्राको परीक्षण गरेको हो । परीक्षण गरिएको भेडा र च्याङ्ग्रा खानका लागि स्वस्थ र योग्य पाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख पाण्डेले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘सुरुआतमै  रोग लागे नलागेको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्रीका लागि आउने ल्याउने गरिएको छ । मुस्ताङ र म्याग्दीमा परीक्षण गरेर पोखरा ल्याइन्छ । बाटोमा सामान्य चोटपटक लागेको हुन सक्छन् । अन्य समस्या देखिएको छैन ।’ पोखरा महानगर पशु शाखाका प्रमुख डा. अषेशराज विकले पोखरामा ल्याइने गरेका भेडा, च्याङ्ग्रा स्वस्थ रहेकाले निर्धक्क भएर उपयोग गर्न सकिने बताउनुभयो ।

    अनुगमनका क्रममा स्वास्थ्य परीक्षण गर्दा एकाधमा चोटपटक लागेको देखिएको बाँके अन्य सङ्क्रामक रोग देखिएको छैन । पशुचिकित्सक विकले भन्नुभयो, ‘पोखरामा ल्याइएका भेडा, च्याङ्ग्रा स्वस्थ रहेका छन् । खर्कमा हुर्किएकाले समस्या देखिएको छैन ।’

    नेपाल पशु स्वास्थ्य ऐनले गरेको व्यवस्थाअनुसार पशु ढुवानीअघि दर्तावाल पशु चिकित्सकले जाँच गरेर स्वस्थ रहेको प्रमाणित गरेपछि मात्र ढुवानी गर्न पाइन्छ । पाण्डेले भन्नुभयो, ‘जहाँबाट हिँडाइन्छ त्यहीँ नै स्वास्थ्य परीक्षण गरेर रोगी छ भने त्यहीँ रोकिन्छ ।’ 

    दसैँको समयमा हिमाली क्षेत्रबाट ल्याइएको च्याङ्ग्राको मासु लोकप्रिय मानिन्छ । चिसो हावापानीमा हुर्किएका र जडीबुटीसमेत खाएका कारण मासु स्वादिष्ट र स्वास्थ्यवर्धकसमेत रहेकाले रोजाइमा पर्ने गरेको छ ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?