१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

आधा प्रतिशत प्रिमियममै किसानले कर्जा पाउने



  • आफ्नै खबर
  • ३० असोज २०८१ बुधबार (१ बर्ष अघि)
  • पाठक संख्या १५१
  • काठमाडौं/  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले किसानलाई ०.५ प्रतिशत प्रिमियममै कर्जा दिने भएको छ । बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम १० लाख रुपैंयासम्म कर्जा दिने गरी ‘किसान सरल कर्जा’ योजना सुरु गरेको हो । 

    बैंकले १० लाख रुपैयाँ भित्र एक लाख रुपैंया बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिने जनाएको छ । कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानूनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन् । 

    कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुबै प्रकृतिको हुनेछ । यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने उल्लेख छ । आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने जनाइएको छ । बैंकको पछिल्लो तीन महिनाको आधार दर ६.३७ प्रतिशत रहेको छ । 

    ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने तथा आवश्यकता अनुसार घर/जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने बैंकले जनाएको छ । कर्जाको बीमा हुने तथा देशभरका सवै शाखावाट उक्त कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

    बैंकले हाल देशका ७७ वटै जिल्लाका सदरमुकाम सहित देशैभर रहेका दुई सय ९४ शाखा, तीन सय १२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टरलगायतका माध्यमबाट सेवा दिइरहेको जनाएको छ ।