१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

माटोका भाँडा बेचेरै मासिक ८० हजार



  • आफ्नै खबर
  • १ कात्तिक २०८१ बिहिबार (१ महिना अघि)
  • पाठक संख्या ४९
  • सुनसरी/  इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । 

    गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कमी आए पनि आफूले पुख्र्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि यही काम गर्दै आउनुभएको हो । पुख्र्यौली पेसा हो अहिले पनि यही भाडाँकुडा बनाएरै घरखर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो ।’ 

    इनरुवामा उहाँको माटोको भाँडा बनाउने कारखाना छ । त्यहाँ बनाएका भाडाँकुडा इटहरी लगेर बच्ने गरिएको छ । धेरै व्यापारीले कारखानामै आएर खरिद गर्ने गरेको पनि उहाँले सुनाउनुभयो । यसरी बनाउने भाँडाका लागि आवश्यक माटो भने विराटनगरको बर्जुताल क्षेत्रबाट ल्याउने गरेको पण्डितले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘जस्तो पायो त्यस्तो माटोले भाडाँ बन्दैन, नजिकै  राम्रो माटो पाउन गाह्रो छ । एक ट्रयाक्टर माटोको १२ हजार रुपैयाँदेखि १८ हजार रुपैयाँसम्ममा ल्याउने गरेका छौँ । एक गाडी माटोले एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरका सामान बनाउन सकिन्छ । घरमा सबै खर्च कटाएर पनि ८० हजार रुपैयाँभन्दा बढी मासिक आम्दानी हुने गरेको छ ।’

    पण्डितले माटोको सामान उत्पादन गर्न सकेमा बिक्रीका लागि बजारको समस्या खासै नरहेको बताउनुभयो । ‘धेरैजसो व्यापारीले कारखानामै आएर सामान लिन्छन्, पसलबाट पनि उति नै बिक्री हुन्छ । धेरैजसो मागका सामान बनाउने भएकाले इटहरी बाहिरका ग्राहकले पनि माग गर्छन्’, उहाँले भन्नुभयो, ‘पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, खादबारी, फिदिम, धनकुटादेखि भोजपुरसम्म मागअनुसार गाडीमार्फत उठाउने गरेका छौँ ।’

    पण्डितका अनुसार बजार र ग्राहकको मागअनुसारका सामग्री बनाउन सके भाँडा व्यवसायबाट राम्रो कमाइ हुन्छ । रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुतु्रके, गिलासलगायत सामान बनाउने गरेकाले सामान बिक्री हुँदैन कि भनेर कहिल्यै चिन्ता गर्नु नपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘एक÷दुईवटा सामान बोकेर गाउँ डुल्नुपर्ने अवस्था छैन ।’

    हाल एउटा पैनि ६ सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छभने गमला ३० रुपैयाँदेखि आठ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । 

    साना–साना सामान दर्जनका हिसाबले बिक्री हुन्छ । जसमा २० रुपैयाँदेखि लिएर एक हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । पण्डितले भन्नुभयो, ‘अन्यत्र मजदुरी गरेर दुःखले कमाउनुभन्दा पुख्र्यौली पेसाबाटै कमाइ राम्रो छ । त्यसैले तीन दशकदेखि भाँडा बनाउँदै आएका छौँ ।’

    इटहरी उपमहानगरपालिका–६ का व्यापारी युवराज काफ्ले पछिल्लो समय माटोका भाँडा थोरै स्थानमा मात्रै बनाउने गरिएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुहुन्छ । उहाँले विगत दुई वर्षदेखि माटोको भाँडाकँुडा व्यापार सुरु गरेको र सिजनअनुसार आम्दानी राम्रै हुने बताउनुभयो । 

    ‘माटोका भाँडा भनेको जन्मदेखि मृत्युसम्म नै आवश्यक पर्छ । सिजनअनुसार सबै माटोको सामग्री बिक्री हुन्छ । अहिले दियो, कलश धेरै बिक्री हुने गरेको छ’, काफ्लेले भन्नुभयो, ‘इनरुवा, विराटनगर, भारतलगायत ठाउँबाट सामान खरिद गरी बिक्री गर्ने गरेको छु । मासिक ३० हजार रुपैयाँसम्म भाँडा बिक्रीबाट आम्दानी हुन्छ ।’

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?