दाङ/ गाउँका सबैजसो घरमा भोटेताल्चा लागेका छन् । गाउँ सुनसान भएपनि गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ ।
नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।
गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौराका नागरिकले परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरेका छन् । घोरादौरको लामीधारा गाउँमा १४ परिवारको बसोबास छ ।
सोही गाउँका राधा गिरी चिउरीका बिजुला पकाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेको बताउनुभयो । घरको कामबाट फुर्सद निकालेर नजिकैको जङ्गलमा गएर चिउरी टिप्ने गरेको उहाँले सुनाउनुभयो ।
गिरीले भन्नुभयो, ‘प्रत्येक वर्ष बिजुला टिप्ने र पेल्ने गर्छौँ । यस वर्ष पाँच मुरी चिउरी टिपेका थियौँ, त्यही पेलेर घ्यू बनाउँदैछौँ ।’ जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको उहाँको भनाई छ ।
उहाँले थप्नुभयो, ‘बाउबाजेको पालादेखि घोरदौरामा चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।’ चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको गिरीले बताउनुभयो ।
तिहारमा रोटी पकाउन पनि चिउरीको घ्यू प्रयोग गर्ने उहाँको भनाई थियो । बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उहाँले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने गरेको बताउनुभयो । गिरीले भन्नुभयो, ‘गाउँका सबै मिलेर चिउरी कुट्ने, पेल्ने गरेका छौँ । एक्लै काम गर्न गाह्रो हुने हुनाले गाउँघरका सबै मिलेर पालैपालो काम गर्ने गरेका छौं ।’
सोही ठाउँका खडकबहादुर महरा पनि चिउरी पेल्न पालो कुरेर बसेको बताउनुभयो । पैसा तिर्नु नपर्ने जङ्गलमा त्यसै खेर गइरहेको चिउरीको दानाबाट अग्र्यानिक खाना खान पाएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ ।’
आफूलाई पुगेर बचेको घ्यू बिक्री गरेर आम्दानी गर्ने गरेको महराले बताउनुभयो । चिउरीको घ्यू स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । चिउरीको घ्यूमा कुनै मिसावट हुँदैन आफैँले टिप्ने र पेल्ने गरेकाले शुद्ध हुने उहाँको भनाइ छ ।
चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ । महराले भन्नुभयो, ‘चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ ।’ एक वर्षमा झण्डै तीन मुरी चिउरी टिप्दा वर्षभरिलाई पुग्ने गरेको उहाँले बताउनुभयो ।
उहाँले थप्नुभयो, ‘यो घ्यू बजारमा बिक्री गर्न लैजान पर्दैन । घ्यू किन्न आउनेलाई आठ सय रुपैयाँ धार्नीमा बिक्री गर्ने गरेका छौँ ।’ त्यहाँका सबैजसोले चिउरी टिप्ने गरेको महराले बताउभयो । एक महिना दुःख गर्यो भने वर्षभरि खान पुग्ने चिउरी घ्यू हुने हुनाले गाउँले सबै मिलेर बिजुला टिप्ने गरेको बताउनुभयो ।
घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरत अर्यालले चिउरीको घ्यू पेल्ने कोल र ढिकीलाई संरक्षण गरेको बताउनुभयो । खुला आकाशमुनि रहेको परम्परगत कोलको संरक्षण गर्न वडा कार्यालयले एक लाख रुपैयाँ उपलब्ध गराएको उहाँको भनाई छ ।
-रासस
प्रतिक्रिया दिनुहोस