१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

पर्यटन प्रवर्द्धन गर्न सुस्तामा ताल निर्माण



  • आफ्नै खबर
  • ५ कात्तिक २०८१ सोमबार (१ महिना अघि)
  • पाठक संख्या ४९
  • नवलपरासी (बर्दघाट  सुस्तापश्चिम)/  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिव २० बिघामा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको हो । 

    सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले सुस्ता–३ र ४ नं वडाको बीचमा रहेको घोलालाई सफाइ तथा मर्मत गरी ताल निर्माण गर्न लागिएको बताउनुभयो । ताल निर्माणका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ खर्च गरिसकेको अधिकृत भुसालले बताउनुभयो । 

    तालको वरिपरि फुटपाथ, उद्यान, वरिपरि विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यता बनाइने उहाँले जानकारी दिनुभयो ।

    पालिकाभित्रका पर्यटकीय सम्भावनाका स्थललाई पहिचान गरी गाउँपालिकाले पर्यटन विकासका नीति अगाडि बढाएको पालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभयो । तालमा माछापालनसमेत गरिने छ । 

    लामो समयदेखि घोलाका रूपमा रहेकाले यसको खासै महत्व थिएन तर अब ताल बनेपछि पर्यटन विकास हुने उहाँले जानकारी दिनुभयो । ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत हुने अपेक्षा गरिएको छ । पहिलो चरणमा घोलाभित्र रहेका झाडी तथा फोहरलाई सफा गरिएको छ । 

    गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न स्थलको पहिचान गर्ने काम गरिरहेको छ । पर्यटन विकासमार्फत आम्दानीका स्रोत व्यवस्थापन गर्ने गाउँपालिकाको उद्देश्य छ ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?