१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

आफ्नै श्रमले अघि वढ्दै पौरखी मुक्तकमैया



  • आफ्नै खबर
  • ६ कात्तिक २०८१ मंगलबार (१ महिना अघि)
  • पाठक संख्या ५५
  • कञ्चनपुर/  वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ । त्यतिबेला उहाँलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो । 

    नदीको छेउमै रहेको त्यो बस्तीमा बाढी पस्थ्यो । होचो भूभाग हुनाले डुबानका कारण जमिनमा उब्जाउ पनि हुँदैनथ्यो । २०५७ सालमा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई आशापुरमा जग्गा उपलब्ध गराएको थियो । 

    हाल मुक्तकमैया बस्ती आशापुरको मुहार फेरिएको छ । ‘वर्षा याममा बाढी पसेर कटान र डुबान हुन्थ्यो । जमिनमा उब्जाउ नै नभएर दैनिक हातमुख जोर्न समस्या थियो’, डगौँराले भन्नुभयो, ‘पछि नदी किनारमा तटबन्ध निर्माण भयो । जमिनमा माटो भरेपछि उब्जाउ पनि हुन थालेको छ ।’

    हाल मुक्त कमैया शिविरका टिनका टहरा पक्की घरमा परिणत भएका छन् यहाँ मुक्तकमैया बढेर २२ परिवार पुगेको छ । आशापुरको मुहार मात्रै होइन मुक्तकमैयाको जीवनस्तरमा पनि सुधार भएको छ । यहाँका अधिकांश स्थानीय डकर्मी छन् । कोही वैदेशिक रोजगारीमा छन्भने केही सागसब्जी फलाएर मनग्गे आर्जन गर्न सफल भएका छन् ।

    ‘कमैया बस्दा दुःख थियो । दिन र रातमा काम गरेपछि दुईछाक खान पाइन्थ्यो, छोराछोरीलाई विद्यालय पढाउने कुरा कल्पना मात्र थियो’, स्थानीय जानकी चौधरीले भन्नुभयो, ‘कमैया मुक्त भएपछि सुरुमा केहीवर्ष अप्ठेरो भयो ।  हाल क्षमताअनुसारको काम आफैँ गरेर जीवन चलाइरहेका छौँ ।’

    उहाँका अनुसार कमैया बसेका घरमा महिलाले खेतीपाती, गाईवस्तु चराउनेलगायत घरका सबै काम गर्नुपथ्र्यो । पुरुषहरुलाई खनजोत गर्ने, दाउरा चिर्नेलगायत कामबाट फुर्सद हुँदैनथ्यो । 
    कमैया मुक्तिपछि सागसब्जी खेती गर्न थाल्नु भएकी जानकीको परिवारका लागि तरकारी खेती आम्दानीको गतिलो स्रोत बनेको छ । 

    ‘कमैया मुक्तिपछि सागसब्जी खेतीको तालिम लियौँ । खेती छोडेका छैनौँ । यसबाट हुने आम्दानीले घरखर्च चलिरहेको छ’, उहाँ भन्नुहुन्छ, ‘डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’

    कमैया मुक्तिपछि सरकारले एक परिवारलाई पाँच कठ्ठा जमिन उपलब्ध गराएको थियो । जानकीले आधा बिगाह जमिन अधियाँमा लिएर धान, गहुँ खेती गर्नुहुन्छ । आफ्नै नौँ कठ्ठा जमिनमा काक्रा, फर्सी, लौका, घिरौला, बोडीलगायत सागसब्जी खेती गर्नुभएको छ । 

    च्याउखेती पनि गर्ने गरेको जानकीको भनाइ छ । मानबहादुर डगौराले पनि दश कठ्ठा जमिन भाडामा लिएर तरकारी खेती गर्नुभएको छ । 
    बारीमा उत्पादित तरकारी महेन्द्रनगरस्थित सब्जीमण्डीमा बिक्री गरेर उहाँले घरखर्च चलाउँदै आउनुभएको छ । ‘अटो रिक्सामा तरकारी सब्जीमण्डीमा बेच्न लैजान्छौँ । सिँचाईँ हुँदा राम्रो

    उब्जाउ हुन्छ’, मानबहादुर भन्नुहुन्छ, ‘थोरै सिँचाईको असहजता छ । नहर लाग्दैन । बोरिङको पानीले सिँचाइ गर्नुपर्छ ।’

    सागसब्जीबाट आर्जन भएको रकमले आशापुरमा मानबहादुर पक्की घर निर्माण गर्नुभएको छ । आशापुरकै विक्रम डगौरा कमैया मुक्त भएपछि तीन पटक विदेश पनि जानुभयो । श्रीमती र छोरा बिरामी भएपछि स्वदेश फर्किएका विक्रम हाल गाउँमै सागसब्जी खेती गरिरहनु भएको छ । 

    ‘नौ वर्ष विदेशमा मजदुरी काम गरियो । त्यहाँबाट फर्किएपछि गाउँमै तरकारी खेती गरें । अहिले राम्रो आम्दानी भइरहेको छ’, उहाँले भन्नुभयो, ‘स्वदेशमै मिहेनत गरेर विदेशको जस्तै कमाइ भइरहेको छ ।’

    स्थानीय बलबहादुर डगौरा मिस्त्री काम गर्नुहुन्छ । अब्बल मिस्त्री गनिने उहाँलाई काम गर्न भ्याईनभ्याई छ । कमैया मुक्ति घोषणापछि विभिन्न सङ्घसंस्थाले सीपमूलक तालिम दिएका थिए । 
    त्यही क्रममा मिस्त्रीको तालिम लिएको बलबहादुर बताउँनुहुन्छ । ‘सुरुमा घर बनाउने ठाउँमा मजदुरी गरें । काम गर्दै जाँदा मिस्त्री भइयो’, उहाँले भन्नुभयो, ‘मिस्त्री भएपछि परिवार पाल्न सहज भएको छ ।’

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?