काठमाडौं/ नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले चौथो संस्करण एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को आवेदन खुला गरेको छ । यो प्रतियोगिता नेपालको नवप्रवर्तनशील उद्यमीहरूलाई चिनाउने र सशक्त पार्ने उद्देश्यले आयोजना गरिएको हो ।
स्टार्टअप अवार्ड्स ४.० उद्यमीहरूलाई आफ्नो व्यवसायिक विचारहरू प्रस्तुत गर्न, उद्योगका नेताहरूसँग नेटवर्क बनाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मार्गदर्शन प्रदान गर्ने प्लेटफर्म रहेको आयोजकको भनाई छ । विगतका संस्करणहरूमा विजेता बनेका डाक्टर्स अन कल, करोबार एप, गली म्याप्स, पेट मामा र डेलिश डेरी जस्ता स्टार्टअपहरूले उल्लेखनीय सफलताहरू हासिल गरेको आयोजकको दावी छ ।
प्रतियोगिताको प्रारम्भिक छनौट चरणमा २० आशाजनक स्टार्टअपहरूको छनोट गरिने छ । यी स्टार्टअपहरूले सघन मार्गदर्शन, विज्ञहरूको सत्र र व्यवसाय विकासको सहयोग प्राप्त गर्ने उल्लेख छ । प्रतियोगिताको अन्त्यमा हुने डेमो डेमा सात जना फाइनलिस्टहरूले प्रतिष्ठित निर्णायकहरूको सामु आफ्नो व्यवसायिक विचारहरू प्रस्तुत गर्नेछन् ।
आवेदन नोभेम्वर १५ मा बन्द हुने जनाइएको छ । पाँच वर्षभन्दा कम समयदेखि संचालनमा रहेका र नेपाल सरकारमा दर्ता भएका तथा अन्य प्रकृया पुगेका स्टार्टअपले आवेदन गर्न सक्ने आयोजकले जनाएको छ ।
विजेता स्टार्टअपहरूले पाउने लाभ
यस प्रतियोगितमा विजेताले् अनुभवी उद्यमी र उद्योगका विज्ञहरुको सघन मार्गदर्शन पाउने जनाइएको छ । त्यस्तै, नेपालभरिका अन्य उद्यमीहरु, लगानीकर्ता र विशेषज्ञहरुसँग नेटवर्क वनाउने मौका उपलव्ध हुनेछ । स्टार्टअपलाई सशक्त र व्यावसायिक उचाइमा पुर्याउन आवश्यक सहयोग प्रदन गरिने आयोजकको भनाई छ ।
त्यस्तै, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरूको सामु व्यवसायिक विचार प्रस्तुत गर्ने मौका प्रदान गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले क्रमशः चार लाख रुपैयाँ, दुई लाख रुपैयाँ र एक लाख रुपैयाँ नगद पुरस्कार जित्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस