डडेल्धुरा/ सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । यो उमेर भनेको ‘आँगन नै परदेश’ हुने उमेर हो भनिन्छ ।
तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रुपमा सक्रिय हुनुहुन्छ । यो उमेरमा उहाँले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।
उहाँले ४० रोपनी जग्गामा तरकारीखेती गर्नुभएको छ । तरकारीबाटै वार्षिक १० लाख रुपैयाँ आम्दानी लिने गरेको उहाँले बताउनुभयो । विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन गर्दै आउनुभएको छ । हाल उहाँको गोठमा ५० वटा खसीबाख्रा छन् । तीन वटा उन्नत जातका भैँसी छन् । घरका भित्ताभरी माहुरीका आधुनिक तथा परम्परागत घार छन् । आँगनको कुनामा खरायोका खोर छन् ।
कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उहाँ बताउनुहुन्छ । ‘सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन’, उहाँ भन्नुहुन्छ, ‘यही काम गर्दागर्दै मर्न पाइयोस् अरु मलाई केही चाहिएन ।’
खेती र पशुपालनबाटै आर्थिक रुपमा सम्पन्न उहाँले गाउँघरका छिमेकीलाई सङ्कट पर्दा सरसापटी दिने गर्नुहुन्छ । उहाँको जाँगर देख्ने जोकोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताउनुभयो ।
उहाँले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिनुभएको छैन । तर माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा हुनुहुन्छ ।
भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ । बजारमा पाइने नयाँ बीउ, मल, विषादीले पनि असर गरेको उहाँको अनुभव छ । पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उहाँको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन ।
पहिलेको परिमाणमा भैँसीले दिने दूध नै घटेको उहाँ बताउनुहुन्छ । उहाँ आसंका गर्नुहुन्छ, ‘कतै पछिल्लो समयमा आएका यी विकासे घाँसले दूधको उत्पादन घटाएको त होइन ?’
देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ छ । आफ्नै देशमा पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने उहाँ सुझाव दिनुहुन्छ ।
–रासस
प्रतिक्रिया दिनुहोस