१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

खेतीमा प्रविधिको प्रयोगले बढ्दो आम्दानी



  • आफ्नै खबर
  • ९ कात्तिक २०८१ शुक्रबार (१ महिना अघि)
  • पाठक संख्या ५७
  • कञ्चनपुर/  कञ्चनपुरको बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गर्नुभएको छ ।

    २०७४ सालदेखि व्यावसायिक रूपमा कृषिमा लाग्नुभएका वडायकले खेतीबाटै आम्दानी गरेर एक करोड रुपैयाँ भन्दा बढीको कृषियन्त्र जोड्नु भएको छ भने खेती गरेरै मनग्य आम्दानी गर्दै आउनुभएको छ । वडयकले आफ्नो र भाडामा गरी १५ बिघा जग्गामा उखु, तोरी, मसुरो र धानखेती गरेर वार्षिक ३० लाख रुपैयाँ बराबरको उत्पादन गरिरहेको बताउनुभयो । 

    उहाँले खेती गर्न अत्याधुनिक कृषि उपकरण भित्र्याउनु भएको छ । ‘अहिलेसम्म खेतीबाट आएको आम्दानीले एक करोड रुपैयाँ भन्दा बढीका कृषियन्त्र खरिद गरेको छु’, उहाँले भन्नुभयो, ‘ड्रोन प्रविधिबाट खेती गर्न सहज हुने भएकाले गत वर्षमात्र १० लाख रुपैयाँमा ड्रोन ल्याएकोे छु ।’ ड्रोन प्रविधिबाट खेती गर्दा लागत कम हुनुका साथै उत्पादनमा समेत वृद्धि भएको उहाँको भनाई छ । 

    भारतका विभिन्न सहरमा व्यावसायिक खेतीको तालिम लिएर व्यावसायिक रूपमा खेतीमा लागेको उहाँको भनाइ छ । ‘दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएँ, भारतकै महाराष्ट्रको साङलीमा व्यावसायिक खेतीको तालिम लिएर यहाँ आएपछि आफ्नो र जग्गा भाडामा लिएर खेतीमा लागेको हुँ’, वडायकले भन्नुभयो, ‘२०७१ सालमा भारतको पन्तनगर विश्वविद्यालयमा तरकारीखेतीसम्बन्धी तालिम लिएको छु ।’ 

    ड्रोन प्रविधिबाट खेती सुरु गरेपछि उत्पादन राम्रो हुन थालेको वडायकको भनाइ छ । ‘ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ, यसबाट बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधिसमेत छर्कन सकिन्छ’, उहाँले भन्नुभयो, ‘ड्रोनको प्रयोगले विषादी छर्किँदा मानिसले भन्दा राम्रोसँग छर्किन सकियो भने किसानको स्वास्थ्यमा हुनसक्ने समस्या पनि हुँदैन ।’ 

    ड्रोन प्रविधिले बीउबिजन र विषादी छर्किँदा थोरै लागतमा धेरै काम गर्न सकिने वडायकले उल्लेख गर्नुभयो । ‘मेरो भतिजा र छोरी आइएससी एजी अध्ययन गरिरहेका छन्’, वडायकले भन्नुभयो, ‘उनिहरुले पनि मलाई प्राविधिक कुरामा सघाउछन् । त्यसले पनि मलाई खेतीमा सजिलो भएको छ ।’ 

    उहाँले छोरी सुस्मिता र भतिजा व्यावसायिक रूपमा कृषि गर्ने उद्देश्यले नै आइएससी एजी अध्ययन गर्न गएको बताउनुभयो । ‘अहिले प्रविधिले हामीलाई धेरै नै सहज बनाएको छ घरका सबै सदस्य मिलेर काम गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘परम्परागतभन्दा प्रविधिले उत्पादन र लागत दुवैमा फाइदा भएको छ ।’ उहाँले खेतीको सिजनका बेला ३०÷४० जनालाई रोजगारीसमेत दिने गरेको बताउनुभयो ।

    ‘सामान्य किसानले एक बिघा जग्गामा दुईदेखि तीन लाख रुपैयाँसम्मको उत्पादन गर्छ, मैले एक बिघामा करिब १४ लाख रुपैयाँसम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु’, वडायकले भन्नुभयो, ‘प्राविधिक कुरामा मात्र ध्यान दिनसके राम्रो उत्पादन हुन्छ ।’ उहाँले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको बताउनुभयो । 

    उहाँले व्यावसायिक रूपमा कृषि गरे विदेशकै जति कमाइ स्वदेशमा गर्न सकिने बताउनुभयो । वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट सुदूरपश्चिमभरि सर्वोत्कृष्ट किसानका रूपमा सम्मानति हुनुभएको छ । त्यसैगरी भीमदत्त उत्कृष्ट किसानबाट समेत उहाँ सम्मानित भइसक्नुभएको छ ।

    पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत रूपमा गोरु र राँगाहरूले जोत्ने ठाउँमा ट्रयाक्टर, मिनीटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छभने बाली काट्न र पिस्न पनि प्रविधिको प्रयोग भइरहेको छ । काट्नलाई रिपर, बस कटर, कम्बाइन हार्भेस्टरलगायतका अत्याधुनिक उपकरणको प्रयोग बढ्दो छ ।

    अहिले किसानले ड्रोनलगायत नयाँनयाँ बीउबिजन, रोग–कीरा नियन्त्रणसम्बन्धी प्रविधिको प्रयोग गरिरहेका छन् । किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकीकरणतर्फ किसानको आकर्षण बढेको छ ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?