पाल्पा/ रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गर्नुभएको छ । दुई दशक विदेशमा मजदुरी गर्नुभएका उहाँले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थाल्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘लामो समयसम्म अर्काको देशमा पसिना बगाए, गाउँ फर्केलगत्तै जग्गा भाडामा लिएर सागसब्जीखेती सुरु गरेको छु, अहिले सागसब्जी, रोप्ने र रेखदेखमै व्यस्त छु ।’
उहाँले तीन वर्षका लागि वार्षिक ४० हजार रुपैयाँमा जग्गा भाडामा लिनुभएको हो । बेमौसमी सागसब्जी उत्पादनलाई जोड दिनुभएका उहाँले काउली, ब्रोकाउली, बन्दा, धनियाँ, मुलालगायत सागसब्जी रोप्नुभएको छ ।
व्यवसाय सुरु गरेको पहिलो वर्षमा नै प्रशस्त आम्दानी भएपछि भुसाललाई सागसब्जीखेतीमा उत्साह थपिएको छ । एक वर्षमा उहाँले चार लाख रुपैयाँ आम्दानी गरेको बताउनुभयो । वार्षिक रूपमा सात लाख रुपैयाँसम्म आम्दानी गर्ने उहाँको लक्ष्य छ ।
विदेशमा आफूले भोगेको अनुभव उहाँ सुनाउनुहुन्छ, ‘अर्काको देशमा धेरै दुःख छ । विदेशको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । दिनमा कम्तीमा पनि १२ देखि १५ घण्टाको काम गर्नुपर्छ । तैपनि कामअनुसारको पारिश्रमिक पाइँदैन । आफ्नो देशमा आनन्दले परिवारका साथमा काम गर्न पाइन्छ । यसमै आनन्द छ ।’
उद्यमी भुसाललाई आफ्ना उत्पादन बिक्रीको कुनै चिन्ता छैन । उहाँले उत्पादन गरेका सागसब्जी रामपुर बजारमा बिक्री हुने गरेको छ । व्यापारीले घरमा नै आएर खरिद पनि गर्ने गरेका छन् । उहाँ सागसब्जी मात्र नभई फलफूलका बिरुवा उत्पादन गरेर बिक्री पनि गर्नुहुन्छ ।
–रासस
प्रतिक्रिया दिनुहोस