३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’



  • आफ्नै खबर
  • ९ कात्तिक २०८१ शुक्रबार (९ महिना अघि)
  • पाठक संख्या ५८
  • काठमाडौं/  ‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा सुरु भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ । 

    करिव ३५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको मेलामा ७० लाख रुपैयाँको फूल एवं नर्सरी सामानको बिक्री वितरण हुने जनाइएको छ । 

    मेलाको उद्घाटन गर्नुहुँदै वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सामुदायिक वनभित्रका बाँझो जग्गा नर्सरीका लागि दिने गरी आगामी नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाउनुभयो । पुष्प व्यवसाय प्रवर्द्धनका लागि बजेटको व्यवस्था गरिने समेत उहाँको वाचा थियो । 

    वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राईले प्लाष्टिकजन्य फूलको आयातले स्वदेशी बजारमा समस्या आएको उल्लेख गर्नुहुँदै सयपत्री, मखमली, गोदावरीजस्ता विदेशबाट आएका फूलभन्दा स्वदेशीलाई प्रवर्द्धन गरिनुपर्ने बताउनुभयो । 

    गत वर्ष आयातीत सयपत्री फूलका कारण नेपाली फूल बिक्री नभएपछि विभागको प्राकृतिक अनुसन्धानशालाले फूड सप्लिमेन्ट र सौन्दर्य सामग्री निर्माण गरेको उहाँले सुनाउनुभयो । यो अनुसन्धानबाट तीन वटा उद्योग पनि दर्ता भएको महानिर्देशक राईले जानकारी दिनुभयो ।  

    नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले नेपालमा ८० प्रतिशतभन्दा धेरै लघु तथा घरेलु उद्योग भएपनि सरकारले भने यिनको प्रवर्द्धनमा ध्यान नदिएकामा गुनासो गर्नुभयो । 

    नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं निर्यात प्रवद्र्धन समितिका संयोजक नरेशलाल श्रेष्ठले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा सहुलियत कर्जाको व्यवस्था गरी देशमै रोजगारी प्रवर्द्धन गर्न सकिने बताउनुभयो । 

    मेला संयोजक एवं आयोजक समितिका अध्यक्ष रामजीप्रसाद तिमल्सिना, उपाध्यक्ष लक्ष्मी महर्जन, निर्णायक समितिका सदस्य रबिन्द्र थापालगायतले सयपत्री फूलको प्रवर्द्धनका लागि सरकारी नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भएपनि कार्यान्वयन हुन नसकेकाले कार्यान्वयनका लागि सरोकार भएका सरकारी र गैरसरकारी निकायबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको थियो ।

    –रासस