२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

असोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे



  • आफ्नै खबर
  • १० कात्तिक २०८१ शनिबार (६ महिना अघि)
  • पाठक संख्या ७८
  • सोलुखुम्बु/  सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिनामा झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका हुन् । 

    सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुका अनुसार उनिहरुबाट निकुञ्जले दुई करोड तीन लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । निकुञ्जका कर्मचारी विवेक श्रेष्ठका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपालीलाई एक सय रुपैयाँ, सार्क मुलुकका लाई एक हजार पाँच सय रुपैयाँ र अन्य मुलुकका लाई तीन हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ ।

    चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा एक सय २५ तथा भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । उक्त महिनामा तीन लाख ४६ हजार रुपैयाँ र भदौमा ३२ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कर्मचारी श्रेष्ठले बताउनुभयो । 

    श्रेष्ठले भन्नुभयो, ‘यतिबेला यहाँ पर्यटक ‘सिजन’ चलिरहेकाले पर्यटकको सङ्ख्या धेरै छ, सगरमाथासहित धेरै हिमाल निकुञ्ज क्षेत्रमै पर्छ । पर्यटक आवगमन बढेपछि उनीहरूसँग शुल्क र अभिलेख सङ्कलनमा हामी व्यस्त छौं ।’ 

    सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत लुक्ला पुग्ने गर्छन्भने कतिपय काठमाडौँबाट सडकमार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ । 

    सिजनमा दैनिक एक हजार जनाभन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो । २०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । 

    पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । 

    –रासस