१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क



  • आफ्नै खबर
  • ११ कात्तिक २०८१ आईतबार (१ महिना अघि)
  • पाठक संख्या ४१
  • काठमाडौं/ सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गरेको मन्त्रीस्तरीय निर्णयअनुसार कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा निःशुल्क उपचार हुने भएको हो ।  

    मंसिर १ गतेबाट निर्णय लागु हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री पौडेलले पदबहाली गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थाल्नुभएको थियो ।

    सरकारले हरेक व्यक्तिलाई उपचारका लागि दिने रकममा अपुग भए मन्त्रालयको आन्तरिक श्रोतबाट व्यवस्थापन गरिने प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

    नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्र्तगतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

    सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको पाइएको छ । नेपालमा हरेक वर्ष करिब १ हजार ५ सय बालबालिकामा क्यान्सर देखिने गरेको महाशाखाले जनाएको छ ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?