१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

ड्रागनखेतीमा जमेका लाहुरे



  • सङ्गीता राई
  • १२ कात्तिक २०८१ सोमबार (१ महिना अघि)
  • पाठक संख्या ४८
  • सुनसरी/  २८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किनुभयो । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । 

    २१ वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उहाँले सोच्नु पनि भएको थिएन । ड्रागन फलको त्यही बिरुवाबाट  अहिले उहाँ यसको व्यावसायिकखेतीमा क्रियाशील हुनुहुन्छ । सुरुमा त उहाँलाई थाहा थिएन, यो फल यत्ति महङ्गो र स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर । 

    अन्य फलको तुलनामा यसको मूल्य निकै रहेकाले उहाँ यसतर्फ आकर्षित बन्नुभएको हो । व्यवसाय सुरु गर्दा स्थानीय बजारहरुमा पनि प्रतिकेजी एक हजार दुई सय रुपैयाँमा बिक्री वितरण हुने थाहा पाएपछि उहाँ निकै हौसिनुभएको थियो । 

    अहिले उहाँलाई आफूले उत्पादन गरेको ड्रागन फलको बजारीकरणमा कुनै समस्या छैन । भाटभटेनी सुपरमार्केसँग समन्वय गरी बिक्री गर्ने गर्नुभएको छ । 

    केही वर्षअघि रामधुनी नगरपालिका–७ रानीपोखरीमा किनेको एक बिघा जग्गा त्यत्तिकै उपयोगविहीन नै थियो । त्यही जग्गामा दुई सयवटा ड्रागनको बिरुवा लगाएर खेती सुरु गर्ने निधो गर्नुभयो । 

    सुरुमा त उहाँलाई धेरैले गलत निर्णय गरेको भन्दै आलोचना पनि नगरेका होइनन् तर उहाँ आफ्नो योजनामा प्रस्ट हुनुहुन्थ्यो । त्यतिबेला पूर्वमा ड्रागनखेती गर्नेको सङ्ख्या थोरै मात्र थियो । कोहीकोहीले घरको छत र बारीमा दुई÷चार बोट मात्रै लगाएका थिए । 

    विदेशबाट फर्केका युवाहरु पछिल्लो समय ड्रागनखेतीतर्फ आकर्षित भएका छन् । कतिपय विदेश पलायन हुन लागेका युवाहरुले पनि आफ्नै देशमा व्यवसाय गरे आम्दानी गर्न सकिने रहेछ भन्ने प्रेरणा उहाँबाट लिएका छन्

    अन्य फलफूल वर्षमा एकपटक मात्र उत्पादन गर्न सकिन्छ भने ड्रागन फल वर्षमा १० पटकसम्म फलाउन सकिन्छ । उहाँले भन्नुभयो, ‘राम्रो उत्पादनसंँगै आम्दानी पनि राम्रो हुने गरेको छ । अहिले वार्षिक ५० लाख रुपैयाँ सजिलैले आम्दानी हुने गरेको छ भने खेतीमा मल, कर्मचारी खर्च सबैगरी वार्षिक १२ लाख रुपैयाँ जति खर्च हुने गरेको छ ।’

    फलसँगै उहाँले बिरुवा बिक्री गरेर पनि राम्रो आम्दानी हुने गरेको बताउनुभयो । बिरुवा मात्र बेचेर उहाँले वर्षमा दुई लाख रुपैयाँ भन्दा बढीको आम्दानी गर्दै आउनु भएको छ । पूर्वमा ड्रागनखेती गर्ने ८० प्रतिशतभन्दा बढी किसानले यहीँबाट बिरुवा खरिद गरेर लाने गरेको उहाँको भनाइ छ । कुनै समय भने बिरुवाको माग अत्यधिक भएकाले बिक्रीका लागि बिरुवा माग पूरा गर्न नसक्ने अवस्था हुने गरेको उहाँ सुनाउनुहुन्छ ।

    सुरुआती समयमा त उहाँले फलबाट भन्दा धेरै बिरुवा बिक्री गरेर आम्दानी गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘पहिले बिरुवा एक बोटको दुई सय रुपैयाँदेखि चार सय रुपैयाँसम्म बिक्री गर्ने गरेकामा अहिले भने प्रतिबिरुवा ५० रुपैयाँमा मा बिक्री हुने गरेको छ ।’

    फल भने खुद्रामा अहिले चार सय रुपैयाँमा बिक्री गर्दै आउनुभएको छभने थोकमा तीन सय ५० रुपैयाँमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । व्यावसायिक रुपमा ड्रागनखेती गर्न थालेपछि उहाँले तर्जुमा ड्राइगन फ्रुट कृषि फार्म नै दर्ता गर्नु भएको छ । उहाँको फार्ममा प्रत्यक्ष अप्रत्यक्ष धेरैले रोजगारी पनि पाएका छन् । उहाँको देखासिकी गरी अहिले धेरै युवाले ड्रागनखेती गर्न थालेका छन् । 

    सुनसरीको तरहरामा जन्मिनुभएका भारतीय पूर्वलाहुरे कृष्णकुमार घले १७ वर्ष भारतीय सेनामा बिताएपछि २०७४ सालमा निवृत्त भई नेपाल फर्किनुभएको थियो । उहाँले नेपाल फर्केपछि बाँकी समय किन त्यत्तिकै खेर फाल्ने भन्ने सोचले व्यवसाय गर्ने निधो गर्नुभयो । 

    सुरुमा उहाँले सुनसरीको रामधुनी नगरपालिका–७ रानीपोखरीमा कागतीखेती सुरु गर्नुभयो, दुई वर्षजति कागतीखेतीमै बित्यो ।  पछि कागतीखेतीबाट भने जस्तो राम्रो आम्दानी हुन नसकेपछि पूरै एक विघा जग्गामा सुरु गर्नुभएको कागतीखेती सबै डोजर लगाएर हटाउनुभयो । 

    उहाँले भन्नुभयो, ‘‘कागतीखेतीबाट त्यति नराम्रो नै चाहीँ भएको हैन तर जति आम्दानी हुन्छ भनेर सुरु गरेको त्यति आम्दानी नभएपछि नजिकै रहेको आफ्नै काका कृपाश्वर घलेको ड्रागन खेती देखेर त्यहीँबाट प्रेरित भएर  ड्रागनखेती सुरु गरेको हुँ ।’

    उहाँले २०७५ फागुनमा तमु कृष्ण बहुद्देश्यीय कृषि फार्म दर्ता गरेर एक बिघाको पूरै जमिनमा ड्रागनखेती सुरु गर्नुभएको छ । कागतीखेतीको तुलनामा अहिले ड्रागनखेतीबाट राम्रो आम्दानी भइरहेकोे उहाँले बताउनुभयो । 

    वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ भने १० लाख रुपैयाँजति खेतीमा मल, काम गर्ने कर्मचारीलाई सालरी सबै खाना पानी गरेर वार्षिक खर्च हुने गरेको उहाँले बताउनुभयो । 
    ड्रागनखेती सुरु गरेपछि आर्थिक रुपमा सबै व्यवस्थित हुँदै गयो, जब ड्रागनखेती सुरु गरे आफैँलाई पनि राम्रो भएको छ भने ड्रागन व्यापार गर्ने किसान र व्यापारीका लागि पनि एउटा आकर्षक कृषि फार्मको केन्द्रका रुपमा विस्थापित भएको उहाँले बताउनुभयो । 

    उत्पादन भएको फल बिक्रीका लागि समस्या छैन, पूर्वी पहाडी भेगका व्यापारीहरु ड्रागन खरिद गर्नका लागि फार्ममा पुग्ने गरेका छन्भने स्थानीय बजारका व्यापारीहरु पनि खरिदका लागि फार्ममै पुग्ने गरेको उहाँले बताउनुभयो ।

    बिक्रीका लागि धेरैजसो इटहरी, धरान, विराटनगरमा मात्र नभई काठमाडाँै, पोखरासम्म पठाउने गरेको बताउनुभयो । यो फल फुल्न सुरु गरेको ४५ दिनमा पाक्ने हुँदा वार्षिक रुपमा सजिलैसँग १६ देखि २० मेट्रिक टनसम्म उत्पादन हुने उहाँको भनाइ छ ।  

    अहिले सुनसरीको रामधुनी नगरपालिका–७ मा मात्र १० घरधुरीभन्दा बढीले ड्रागनखेती गर्दै आएका छन् । विदेशबाट फर्केका युवाहरु पछिल्लो समय ड्रागनखेतीतर्फ आकर्षित भएका छन् । कतिपय विदेश पलायन हुन लागेका युवाहरुले पनि आफ्नै देशमा व्यवसाय गरे आम्दानी गर्न सकिने रहेछ भन्ने प्रेरणा उहाँबाट लिएका छन् ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?