१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

तनहुँको सयपत्री कतार निर्यात



  • आफ्नै खबर
  • १४ कात्तिक २०८१ बुधबार (१ महिना अघि)
  • पाठक संख्या ४८
  • तनहुँ/  आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो । 

    कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटारका महिलाहरु फूल टिप्न व्यस्त छन् ।  समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त छन् । 

    समूहले गतवर्षदेखि सयपत्री कतार निकासी गर्न थालेको हो । गतवर्ष दुई लाख ५० हजार रुपैयाँ बराबरको सयपत्री निकासी गरिएको जानकारी दिँदै अध्यक्ष गुरुङले यो वर्ष ८ लाख रुपैयाँ बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको बताउनुभयो । 

    आँधीमूल महिला समूह र याञ्चोक महिला समूह एकआपसमा गाभिएर फूलखेती प्रारम्भ भएको हो । गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएपछि महिलाहरु व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । 

    समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ । ‘आज र भोलि आँबुखैरेनी गाउँपालिकाभित्रका १२ स्थानमा बिक्री स्थल बनाइनेछ’, महिला सशक्तीकरण पालिकाको प्राथमिकता भएको बताउँदै उहाँले भन्नुभयो, ‘केही माला तयार गरी कोल्डस्टोरमा राखिएको छ ।’ फूलखेतीबाट समूहमा आबद्ध महिला आर्थिक रूपमा पनि सक्षम भएका छन् ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?