१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

नगरवासीलाई सहुलियत शुल्कमा फूल



  • आफ्नै खबर
  • १५ कात्तिक २०८१ बिहिबार (४ हप्ता अघि)
  • पाठक संख्या ४७
  • नुवाकोट/  विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा बिक्री सुरु गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । 

    उहाँका अनुसार वडा नं. ५ स्थित माझीटार र वडा नं ९ स्थित कोलनीमा रहेको नगरपालिकको नौ रोपनी खाली जग्गामा सयपत्री र मखमली लगाइएको थियो । उक्त फूल तिहारका अवसरमा नगरवासीलाई सहुलियत शुल्कमा बिक्री गरिएको हो ।

    नगरप्रमुख राजन श्रेष्ठले भन्नुभयो, ‘भाइटिकाको दिनसम्म बिक्रीको प्रबन्ध मिलाएका छौँ ।’ मखमली फूल प्रतिकिलो तीन सय ५० रुपैयाँ र सयपत्री प्रतिकिलो दुई सय रुपैयाँ शुल्क तोकिएको छ ।

    उक्त शुल्क हाल बजारमा कारोबार भइरहेको शुल्कभन्दा कम भएकाले फूलको माग धेरै भएको कृषि शाखाप्रमुख मदनराज न्यौपानेले जानकारी दिनुभयो । बजारमा हाल सयपत्री फूल प्रतिकिलो दुई सय ५० रुपैयाँ र मखमली चार सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    नगरपालिकाले प्लास्टिकजन्य फूल तथा मालाको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएकाले फूलको माग उच्च भएको हो । लामो समयदेखि बाँझो रहेको जग्गामा नगरपालिका आफैँले फूलखेती गरी नगरवासीलाई समेत फूल खेतीप्रति आकर्षित गर्ने लक्ष्य लिएको छ ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?