१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’



  • आफ्नै खबर
  • १५ कात्तिक २०८१ बिहिबार (४ हप्ता अघि)
  • पाठक संख्या ६६
  • म्याग्दी/  रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । 

    म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन् । ५४ वर्षदेखि भेडापालन गर्दै आउनुभएका ६८ वर्षीय भण्डारीले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि सातवटा ‘भोटे कुकुर’ पालेको बताउनुभयो । घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने किसानका उदाहरण हुनुहुन्छ ढोरपाटनका रनबहादुर र भगवतीका नन्दबहादुर । 

    कुकुर नभएका भेडाबाख्रा, च्याङ्ग्रा, चौँरी, गाईभैँसीको गोठ नै हुँदैनन् । महिनौँसम्म एक्लै जङ्गलमा बस्ने गोठालाको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याललगायत जङ्गली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन् । 

    राति, साँझ र बिहान गोठको वरपर रुँगेर पहरा दिने कुकुरले जङ्गली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर सङ्केत गर्ने, लखेट्ने तथा भिडेर किसानलाई सहयोग गर्ने अन्नपूर्ण गाउँपालिका–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताउनुभयो । 

    ‘कुकुरबिनाको गोठालाको कल्पना नै गर्न सकिँदैन’, ३२ वर्षदेखि गोठाला गर्दै आएका ७२ वर्षीय रनबहादुरले भन्नुभयो, ‘पशुहरु जङ्गलमा चराउन लैजाँदा उनीहरुको पछिपछि डुल्ने कुकुरले अप्ठ्यारो भिरमा जान दिँदैनन् । साँझ पर्न लाग्यो भने खेदेर गोठमा फर्काउँछ । चितुवा, ब्वाँसो, स्याल देखेपछि भुकेर सूचना दिन्छ । आक्रमण गर्न आउने जङ्गली जनावरलाई भगाउँछन् ।’

    कुकुरको सहयोगविना गोठाला एक्लैले सयौँको सङ्ख्यामा रहेका गाई, भैँसी, भेडाबाख्रा, च्याङ्ग्राको रेखदेख गर्न नसक्ने भएकाले कुकुरलाई गोठालाको बफादार सहयोगी मान्ने गरिएको रनबहादुरले बताउनुभयो । म्याग्दी, मुस्ताङ र ढोरपाटनका गोठालाहरुले तीस किलोग्रामभन्दा बढी तौल हुने, अग्ला र ठूला शरीर भएका देख्दै डरलाग्दा कम्तीमा दुईवटा भोटे कुकुर पालेका हुन्छन् । 

    यस्ता कुकुरको छाउरालाई नै प्रतिगोटा १० हजार रुपैयाँभन्दा बढी मूल्य पर्छ । आफ्ना मालिकलाई माया गर्ने, जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकीलाई सजिलो र सुरक्षति बनाएको कृषक राम्जालीले बताउनुभयो ।  

    बिहान र बेलुका पीठोको खोलेका साथै भेडाको दूध र मासु पनि गोठमा पालिने कुकुरका खाना हुन् । एक ठाउँमा दशदेखि १५ दिन गोठ राखेर वरपरका खर्क र जङ्गलको घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाभर दुई सयभन्दा बढी गोठमा २० हजारको सङ्ख्यामा बरुवाल र भ्याङलुङ जातका भेडा पालिएको छ ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?