महोत्तरी/ भनिन्छ, ‘सय वर्षमा खोला पनि फर्कन्छ’, तर महोत्तरीको भङ्गाहा–६ हतिसर्वाका पर्सा र सग्रामपुर बस्तीका बासिन्दालाई आफ्नो जग्गा बगर बगाउने रातु भङ्गालो फर्किएको कुर्न सय वर्ष पर्खनुपरेन । २०३० सालको बाढीले बगर बनाएको जग्गा यहाँका बासिन्दाले चार दशकमै हराभरा बनाएका छन् ।
बगरमा अहिले आँप, लिची, सपाटो र कागतीसहितका फलका रुख हुर्केका छन् । यहाँ मौसमअनुसार फल र तरकारीका लहरा फल्न थालेका पनि चार÷पाँच वर्ष नाघेको छ । कुनै टिप्ने भइसकेका, कुनै फुल्दै र चिचिलाले भरपुर ।
परवल, लौका, फर्सी, करेला, घिरौँला र झिमनीका बग्रेल्ती लहरा । नदि उकास गेग्य्रान ठाउँ अहिले किसानको मेहनतले हराभरा भएको देख्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । ‘बगर बगैँचा र बगैँचामा खेती’ले किसानको जीवन फेरिएको छ ।
पचास वर्षअघिको बाढीले बस्ती नजिकको उब्जाउ जग्गा रातुले बगर बनाइदिदा सुकुम्बासी बनेका पर्साका आदिबासी थारु समुदायले अहिले पनि ती आपद्का दिन भुलेका छैनन् ।
‘छँदाखाँदाको हाम्रो जग्गा बगर बनेपछि हामी किसानबाट बनिहारा (खेतीपातीका काम गर्ने मजदुर) बन्यौँ, रातारात सुकुम्बासी बनियो’ विगतका दुःखका दिन सम्झदै पर्सा बस्तीका रामनारायण सिंह थारु भन्नुहुन्छ, ‘पछि २०६४ सालयता सरकारले पूर्व–पश्चिम राजमार्गमुनि रातुका दुई तिरका भङ्गाला तटबन्ध गरेपछि हाम्रो बगर बनेको जग्गा उकास बन्यो ।’
भङ्गाला बाँधिएर जग्गा उक्से पनि गेग्य्रान थुप्रिएको जग्गा सुधार्न आफूहरुलाई सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबासले उत्प्रेरित गरेको पर्सा र सग्रामपुरका बासिन्दा सम्झन्छन् । अहिले पर्सा बस्तीकी वृन्दादेवी हुजदार थारुको दैनिकी त्यही बगर पुगेपछि सुरु हुन्छ ।
झरेका पातपतिङ्गर रुख बिरुवाका फेदमा ओछ्याउने, हरिया झार उखेल्ने, आँप र अन्य फलफूलका बोट सुमसुम्याउने, रुखिएका बोटमा पानी हाल्ने, तरकारी टिप्ने, तरकारी लिन आएका ब्यापारीलाई आफ्नो उत्पादन तौलेर दिने र हिसाब मिलान गर्ने हुजदारका दैनिकी बनेको छ । झन अहिले त चाडवाडको मुख हुँदा ब्यापारी र वरपरका ग्राहकको माग पु¥याउन, बिरुवा गोडमेल गर्न र घरको कामको संयोजन गर्न भ्याइनभ्याइ नै पर्ने बगर खेतीका किसान बताउँछन् ।
‘अब दुःखका दिन बिर्सदै गएका छौँ, अचेल सधैंँ काम छ, दिनहुँ तरकारी, फलफूल बेचेको पैसा हात पर्छ’ उहाँ भन्नुहुन्छ, ‘दिनहुँ पालो लगाएर तरकारी टिपिन्छ, परवल, लौका, फर्सी, करेला, झिगनी, भिण्डी, काँक्रा र खोर्सानी, कागती टिप्न र बिक्री गर्न भ्याइनभ्याइ हुन्छ ।’
वृन्दामात्र नभएर पर्सा र सग्रामपुरका एक सय आठ परिवारको घरगुजारा, नानीहरुको पठनपाठन, स्वास्थोपचार र चाडपर्वको खर्च यही बगरले दिएको छ । एक समय घरगुजाराकै लागि मालिकको खेतबारीमा काम गर्न जाने आफूहरु अब आफ्नै कामले फुर्सद नभएको बगर खेतीका किसान खुसी हुँदै बताउँछन् । रातुको पश्चिमी भङ्गालोको बाढीले जग्गा सबै काटेर बलौटो थुपारेपछि पर्साका आदिवासी थारु लालपुर्जामा जग्गा भए पनि सुकुम्बासी बनेका थिए ।
‘लालपूर्जा हुँदाहुँदै हामी नाङ्गा भयौँ, बाढीले अर्काको खेतबारीमा मजदुरी गरेर जीवन धान्नुपर्ने बनायो’ विगत भोगाइ कोट्याउँदै पर्सा बस्तीका ६५ वर्षीय रामनायण सिंह थारु भन्नुहुन्छ, ‘धन्न सामुदायिक विकास तथा पैरवी मञ्चले हाम्रो आँखा खोली दियो र बगर सम्याएर खेतीपाती गर्न थाल्यौंँ ।’
पूर्व–पश्चिम राजमार्गको रातु पुलमुनि खोलाका तीन भङ्गाला बनेर पश्चिमी भङ्गालाले आपूmहरुलाई सुकुम्बासी बनाएको विगत सम्झदा अहिले पनि सिंहका आँखाका डिलमा आँशुका ढिका ढलपलिन्छन् ।
२०६४ सालयता रातु पुलमुनि जनताको तटबन्ध कार्यक्रमले नदीका तीन भङ्गाला बाँधेर एउटामा मात्र पानी बग्ने बनाइएपछि नदी उकास भएको त्यहाँको बगरमा पैरवी मञ्चले बगरखेती गर्न किसानलाई उत्साहित बनाएको हो । पैरवी मञ्चको उत्प्रेरणाले २०७१ सालदेखि बगर खन्न खोस्रन थालेका यहाँका आदिवासी थारु अहिले अब्बल किसानमा दरिएका छन् ।
सिंह भन्नुहुन्छ, ‘पहिलेका दुई/तीन वर्ष त बगरका ढुङ्गा छान्नै लाग्यो, त्यसपछि विस्तारै खनीखोस्री गर्दा अबचाँही बगर जीविका धान्ने भयो ।’ नदीले छाडेको जग्गा पुरानो लालपुर्जाको आधारमा पैरवी मञ्च र भङ्गाहा नगरपालिकाको कार्यालयले नापजाँच गर्ने प्राविधिकबाट छुट्याइदिएपछि किसान आ–आफ्नो सीमाभित्र खेती गर्न लागेका हुन् ।
पहिलेको बगर अब हराभरा बनेको छ । पहिलोचोटी यहाँ आइपुग्नेलाई त यहाँ बगर थियो भन्दा पत्यार नलाग्ने बनेको छ । नदी उकास जग्गामा अहिले मालदह, बम्बै, दशहरी, कलकतीया र जर्दा जातका १८ हजार आँपका रुख हुर्केका छन् । यी रुखमा फल लाग्न थालेका पनि चार/पाँच वर्ष भएको छ ।
बगैँचामा आँपबाहेक रुखकटहर, लिची, कागती र सपाटो फलका रुख छन् । रातु भङ्गालाको पहिलेको बगर अहिले किसानको पौरखले हाँसेको छ । बगरैभरि बगैँचा, बगैँचाभित्र तरकारी खेती । कतै घिरौँला त कतै फर्सीका हरिया कैंडा । त्यहीँ नै माचमा लौका भुण्डिएका छन्, कतै भिण्डी (रामतोरिया, रामझिङनी) बोटभरि हुर्कदै ।
पुरानो रातु बगर अहिले किसानको मिहेनतले लहलहाएको छ । सँग्रामपुर र पर्साका किसानले पहिलेको बालुबुर्ज दुई सय ५६ बिघा बलौटे जग्गा खनीखोस्री गरेर नङ्ग्रा खियाउन लागेका एक दशक भएको छ । प्रारम्भका दुई/तीन वर्षबाहेक त्यसयताका वर्ष उत्पादन र आर्जनमा ठिकठाक नै चल्दै आएका बगर खेतीमा रमाउँदै आउनुभएका सग्रामपुरका जासर यादव बताउनुहुन्छ ।
कोरोनाकालमा उत्पादन बजार पुर्याउन दुःख पाएको सम्झना गर्दै उहाँ ती दुःखका दिन पनि कटेका भावुक हुँदै बताउनुहुन्छ । खासमा तीन वर्षअघिको कोरोनाकालमा पाएको सास्ती यहाँका किसानका लागि पीडादायी सम्झना बनेका छन् ।
बगरमै भङ्गाहा–७ का भूमिहीन दलितले पनि पछिल्ला सात वर्षयता तरकारी बाली लगाएर आर्जन गर्दै आएका छन् । विगतको यो बगर अहिले किसानको मेहनत र लगनले ‘सुन’ फल्न लागेको हेर्न जानेको प्रतिक्रिया हुने गरेको छ ।
यहाँका किसानलाई पैरवी मञ्चले बिउबिजन, ज्यावल, फलपूmलका बिरुवा, सिँचाइका लागि बोरिङको व्यवस्था गरीदिनसँगै सबैलाई विभिन्न किसान समूहमा आवद्ध गराएको छ । बगरखेतीका किसान अहिले आफ्नो घरखर्च धान्ने मात्र होइन, छरछिमेकलाई पर्दा गर्जो टार्न सहयोग गर्नसक्ने भएका छन् । आ–आफ्ना समूहमा किसानले मासिक बचत गर्दै आएका छन् ।
पर्सा बस्तीका किसान ७० वर्षीय शङ्कर हुजदारले आफ्नो १२ कठ्ठा बगर खेतमा ५६ वटा आँपका रुख हुर्काउनु भएको छ । यसैगरी बगैँचाभित्र तरकारी र मसाला (बेसार, अदुवा, खोर्सानी) खेतीबाट घरगर्जो टारेर बर्सेनि दुई लाखरुपैयाँ भन्दामाथि सञ्चित हुने गरेको शङ्कर बताउनुहुन्छ ।
पैरवी मञ्चले जिल्लाकै गौशाला–८ को बेलगाछीका मुसहर जाति समुदायका दलितलाई पनि बगर खेतीमा प्रोत्साहित गरेको छ । बेलगाछी नजिकको सनी खोला किनारको बगर नगरपालिका कार्यालयको समन्वयमा ५० घरमाथिका मुसहरलाई खेतीपातीका लागि वितरण गरिएपछि २०७८ सालयता गिरहत (जग्गावाल मालिक) को खेतमा बनी गर्ने मुसहर अहिले आफैँ किसान भएका छन् ।
अन्यत्र पनि त्यस्तै खुसियाली
पैरवी मञ्चले विभिन्न दातृ निकायसँग समन्वय गरी महोत्तरीमा मात्र नभइ धनुषाको मिथिला नगरपालिकाको औरही नदी किनारको बगर र कमला नदी तटको सिरहाको कर्जन्हा नगरपालिका–६ बन्दीपुरको एक सय १६ बिघा बगरमा खेती गर्न साना किसानलाई सघाएको छ ।
बन्दीपुरमा एक सय १६ बिघा नदी उकास कमलाको बगरलाई अहिले दुई सय ४३ परिवार गरिब किसानले हराभरा बनाएका छन् । किसानलाई परिवार सङ्ख्याको आधारमा कर्जन्हा नगरपालिकाका जनप्रतिनिधिले बगरमा सीमा छुट्याएर बाँडी दिएपछि दिनरात नभनी त्यहाँका किसानले आफ्ना दुःख र अभावका दिन फेरेका छन् ।
कमलाको नदीउकास बगर अहिले दुई वर्षभित्रै हराभरा बनेको छ । पहिलोपटक मञ्चले काँस घारी फाँड्न जोतखनका लागि ट्र्याक्टर उपलब्ध गराएको थियो । बगरमा अहिले आँप, लिची, कटहर र कागतीका समेत् ११ हजार बिरुवा हुर्केका छन् । बगैंँचाभित्रको जग्गामा अहिले लहलह परवल छ । परवल किन्न ब्यापारी खेतमै आउने गरेका किसान जगतीदेवी मुखिया बताउनुहुन्छ ।
यहाँ मुसहर, खत्वे र मलाह जाति समुदायका गरिब किसानले ‘बगरमा बगैँचाः बगैँचामा खेती’ कार्यक्रमबाट राम्रो आर्जन गरिरहेका छन् ।
‘हामीले पसिना बगाउने आफ्नै ठाउँ पाएका छौँ, अब बनी (मजदुरी) गर्न कहींँ जानपर्दैन, यही बगर खोस्रदा धेरै कुरा पाएका छौँ’ पाँच कठ्ठा जग्गा पाएका पल्टा मुखियाले भन्नुभयो, ‘हाम्रो सबै गुजारा यो बगरले चलाएको छ ।’
बन्दीपुरको बगरबगैँचा खेतीका लागि कर्जन्हा नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को साथ पाइएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ ।
‘यहाँ पाँच प्लट छन्, प्रत्येक प्लटमा एउटा पक्की घर टहरा बनेका छन्’, अध्यक्ष यादव भन्नुहुन्छ, ‘यी टहरा किसानका थकाइ मार्ने र तरकारी टिपेर थुप्य्राउने ठाउँ हुन् ।’ किसानको मेहनतले पहिलेको बगर अब उर्बर जग्गा बनेको देख्दा खुशी लाग्ने गरेको यादव बताउनुहुन्छ ।
सिँचाइका लागि बोरिङ्ग र बिजुलीको प्रबन्धले खेती सहज बनेको किसानले बताएका छन् । समयसमयमा बिउविजन, मलखाद र कृषि प्राविधिकको सरसल्लाह पैरवी मञ्चले जुटाइदिएको मुसहर समुदायकी किसान सुर्जी सदा बताउनुहुन्छ ।
उपभोक्ताको स्थास्थ्य पनि चासोमा
सबै ठाउँका बगरखेतीका किसान आफ्नो र आम उपभोक्ताको स्वास्थ्यप्रति सचेत छन् । खेतीमा घरमै बनेको कम्पोष्ट मल र किरा नियन्त्रणका घरेलु औषधि प्रयोग गरिन्छ । बगर खेतीका किसानले रासायनिक मल र विषादीरहित प्राङ्गारिक खेती गर्ने हुँदा उपभोक्ताका लागि यी ठाउँका उत्पादन पहिलो रोजाइमा पर्ने गरेका छन् ।
सामान्यतया आफ्ना उत्पादन जग्गामै बिक्ने गरेको किसानको भनाइ छ । ‘तरकारी चाहिने सोझै यहीं आइपुग्छन्, हामीलाई यहीँ तौलेर दिन भ्याइनभ्याइ हुन्छ’, कमलाको नदी उकास बगर खेतीका किसान परीक्षण सदा भन्नुहुन्छ, ‘घरमा खान र व्यवसाय गर्ने ब्यापारी सबै खेतमै आइपुगेपछि हम्मेसी बजार नै जान पर्दैन ।’
बगर खेतीबाट नियमित आम्दानी हुन थालेपछि महोत्तरी, धनुषा र सिरहाका किसानका छोराछोरी नियमित विद्यालय जाने, थोरैपनि स्वास्थ्य समस्या हुँदा तत्काल स्वास्थ्य चौकी जाने, नियमित आफ्नो किसान समूहको बैठकमा सहभागी हुने र बचत गर्ने भएका छन् ।
यिनीहरुको जीवनमा आएको परिवर्तनले निरन्तर सघाउन उत्प्रेरित गर्ने गरेको कर्जन्हा नगरपालिकाका प्रमुख भोला पोखरेल बताउनुहुन्छ । बगर बगैँचा र तरकारी खेतीमा लागेका किसानमा आएको परिवर्तन अन्य ठाउँका लागि शिक्षा भएको पैरवी मञ्चका अध्यक्ष यादवको थप भनाइ छ ।
बगरमा किसानले गरेका मेहनतले विपद् व्यवस्थापन, महिला सशक्तीकरण, जैविक विविधता, वातावरणीय अनुकूलन, जलवायु परिवर्तन अनुकूलन र जलाधार क्षेत्रको संरक्षण सम्बद्र्धनमा महत्वपूर्ण योगदान पुगेको यादव बताउनुहुन्छ ।
–रासस
प्रतिक्रिया दिनुहोस