१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष



  • आफ्नै खबर
  • २१ कात्तिक २०८१ बुधबार (४ हप्ता अघि)
  • पाठक संख्या ५५
  • चितवन/  भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न एक करोड एक लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । 

    केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथबाट गौ संरक्षण सुरु भएको भन्दै उहाँले त्यसलाई निरन्तरता दिइएको बताउनुभयो ।

    अक्षयकोषका लागि ११ हजार एक सय रुपैयाँको आजीवन सदस्य र एक लाख एक हजार रुपैयाँको संरक्षक सदस्य बनाइएको छ । पैतालिस जना संरक्षक सदस्य र तीन सय २५ जना आजीवन सदस्य छन् । 

    २०७४ सालबाट कोष स्थापना गरी रकम सङ्कलन गर्न थालिएको हो । कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा १८ लाख रुपैयाँभन्दा बढी सङ्कलन भएको उहाँले बताउनुभयो ।
    गौ संरक्षण केन्द्रले दुई सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताउनुभयो । 

    दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् । योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नुभएको हो । 

    केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?