१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

‘हाम्रो ब्लड बैंक, हामी बनाउछौँ’ अभियान सफल हुँदै



  • आफ्नै खबर
  • २१ कात्तिक २०८१ बुधबार (४ हप्ता अघि)
  • पाठक संख्या ३९
  • पाल्पा/  जिल्लामा रक्तसञ्चार केन्द्र स्थापना गर्न विभिन्न सङ्घसंस्थाबाट रकम सङ्कलन भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ‘हाम्रो ब्लड बैंक, हामी बनाउछौँ’ भन्ने अभियान सञ्चालन गरी विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट रकम जुटाउन थालेको हो ।

    रक्तसञ्चार केन्द्र स्थापना गर्न सञ्चालन गरिएको उक्त अभियानमा ऐक्यबद्धता जनाउँदै यहाँका विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा हालसम्म ४५ लाख रुपैयाँ भन्दा बढी रकम सङ्कलन भएको शाखाका जिल्ला सभापति बाबुराम कार्कीले जानकारी दिनुभयो । 

    हालसम्म यशस्कर सदस्यबाट ६ लाख रुपैयाँ, विशिष्ट सदस्यबाट २२ लाख रुपैयाँ, स्मृतिकोषबाट सात लाख रुपैयाँ, विभिन्न सङ्घसंस्थाबाट छ लाख ८० हजार रुपैयाँ, देशबाहिर काम गर्न गएका विभिन्न व्यक्तिबाट तीन लाख ९५ हजार रुपैयाँ रकम सङ्कलन भएको रेडक्रस कार्यालयले जनाएको छ ।

    रक्तसञ्चार केन्द्रको स्थायी भवन निर्माण गर्न सहरी विकास मन्त्रालयबाट एक करोड ५३ लाख रुपैयाँ र स्वास्थ्य मन्त्रालयबाट भवन तथा उपकरण खरिद गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन भएको सभापति कार्कीले बताउनुभयो । उहाँका अनुसार सरकारी तथा गैरसरकारी निकायबाट हालसम्म दुई करोड ४७ लाख ७५ हजार रुपैयाँ बराबरको स्रोत सुनिश्चित भएको छ । 

    जिल्लाका आठ गाउँपालिकाले पाँच लाख रुपैयाँका दरले ४० लाख रुपैयाँ, दुई नगरपालिकाले १० लाख रुपैयाँका दरले २० लाख रुपैयाँ अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । केन्द्र सञ्चालनका लागि पाँच करोड ७५ लाख रुपैयाँ बराबरको रकम आवश्यक पर्ने भएकाले रकम सङ्कलन अभियानमा जोडिन रेडक्रसले सबैमा आग्रह गरेको छ । रेडक्रसले गत चैतदेखि साझा रुपमा अघि बढाएको उक्त अभियानमा विभिन्न ठाउँमा बसोबास गर्ने पाल्पालीले ऐक्यबद्धता जनाउँदै रकम सहयोग गरिरहेका छन् । 

    संस्थाले तीन करोड रुपैयाँ अक्षयकोषमा राखेर त्यसबाट आउने ब्याज रकमले कर्मचारी र प्रशासनिक खर्च सञ्चालन, बाँकी दुई करोड ७५ हजार रुपैयाँ भवन निर्माण र सामग्री खरिदमा खर्चिने योजना अनुसार रक्तसञ्चार केन्द्र स्थापनाका लागि जोड दिइएको शाखाका उपसभापति भीमसेन कार्कीले बताउनुभयो । 

    उहाँका अनुसार जिल्ला बाहिर रहेका पाल्पाली समाज पोखरा, पाल्पाली समाज काठमाडौँ, लघुवा समाज काठमाडौँ तथा विदेशमा रहेका पाल्पाली सेवा समाज कतार, पाल्पाली सङ्गम अमेरिका, नमस्ते पाल्पा परिवार, दक्षिण कोरियाले आर्थिक सहयोग गरिरहेका छन् । जिल्लामा हाल वार्षिक चार हजार युनिट रगतको आवश्यकता पर्दछ । लायन्स क्लब अफ पाल्पाले भुसालडाँडा क्षेत्रमा भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेको छ । 

    जिल्लामा रक्तसञ्चार केन्द्र नहुँदा बिरामीले रगतका लागि सास्ती खेप्नु परिरहेको छ । रेडक्रसले सञ्चालन गरेको अभियानमार्फत यथाशीघ्र केन्द्र स्थापना हुने रेडक्रसले जनाएको छ । यहाँ केन्द्र स्थापना भई सञ्चालनमा आएपछि बिरामीलाई सहज हुनेछ । केन्द्र स्थापनामा नागरिकले उत्साह जनाउँदै स्वतःस्फूर्त रुपमा आर्थिक सहयोग गरिरहेका छन् ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?