१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

छात्रवृत्तिमा ‘एमबीबीएस’ पढाउँदै कनकासुन्दरी



  • आफ्नै खबर
  • २२ कात्तिक २०८१ बिहिबार (३ हप्ता अघि)
  • पाठक संख्या ४४
  • जुम्ला/  कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको हो । 

    गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार गत वर्षदेखि कनकासुन्दरी गाउँपालिका–५ निवासी प्रिन्ता हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहनु भएको छ । उहाँ हाल दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । 

    एमबीबीएस अध्ययन गर्न ४६ लाख रुपैयाँ लाग्नेमा गाउँपालिकाले २३ लाख रुपैयाँ प्रिन्सालाई छात्रवृत्ति बापत प्रदान गरेको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

    चिकित्सा शिक्षा अध्ययनपछि छात्रवृत्तिमा पढेका विद्यार्थीले दुई वर्षसम्म गाउँपालिकामा सेवा गर्ने सर्त रहेको गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीको भनाइ छ । यस्तै कनकासुन्दरी गाउँपालिका– ३ की कल्पना बुढालाई पनि एमबीबीएस अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।

    बुढा किस्ट कलेज ललितपुरमा अध्ययनरत हुनुहुन्छ । कनकासुन्दरी गाउँपालिका– ५ बडुवालवाडाका विवेक बडुवाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विटिएस डेण्टल अध्ययन गर्दै हुनुहुन्छ । बडुवाललाई पनि गाउँपालिकाले प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ सहयोग गरेको गाउँपालिका सूचना अधिकारी खत्रीले जानकारी दिनुभयो ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?