चितवन/ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो ।
अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा सुरु गरिएको हो । यसका लागि आवश्यकपर्ने उपकरण एक करोड ५० लाख रुपैयाँमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा सुरु गरिएको हो ।
उहाँका अनुसार एक जना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो । तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार यसअघि यो परीक्षण धेरै भारत पठाउने गरिन्थ्यो । केही नमूना काठमाडौँ जाने गर्दथ्यो । नतिजा आउन १५ दिनभन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको उहाँले जानकारी दिनुभयो ।
बाहिर पठाउँदा ३० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेकोमा यहाँ परीक्षण हुँदा १२ हजार रुपैयाँ मात्रै लाग्ने गर्दछ । अस्पतालमा रक्त क्यान्सरका बिरामी धेरै नै हुने भएकाले बिरामीलाई सहज भएको छ ।
उहाँले भन्नुभयो, ‘छिटो रोग पहिचान गर्न पनि सहज भएको छ ।’ कार्यकारी निर्देशक डा. पौडेलले अस्पतालका सेवा विस्तार गर्ने कार्यमा आफू लागिरहेको बताउनुभयो । अस्पतालमा थन्किएर बसेको सिटी स्क्यान मर्मत गरेर सञ्चालनमा ल्याइएको छभने लामो समयदेखि रोकिएको मेमोग्राम सेवा छिट्टै सञ्चालनमा ल्याइदै छ ।
–रासस
प्रतिक्रिया दिनुहोस