१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

घरमै पुगेको धाराले फेर्यो जीवन



  • आफ्नै खबर
  • २५ कात्तिक २०८१ आईतबार (३ हप्ता अघि)
  • पाठक संख्या ६८
  • नवलपरासी पूर्व/  नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको जीवनमा परिवर्तन आएको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट डोकोमा पानी बोक्नुपर्ने बाध्यता थियो । 

    देवचुली नगरपालिकाको पहाडी क्षेत्रअन्तर्गत पर्ने मौलाथुम्कीका भीमकुमारी लुङ्गेलीले अहिले घरमै धारा आएसँगै पहिले आफूहरूले गरेको दुःख बिर्सिएको बताउनुभयो । खोलाबाट पानी बोक्दा दिन नै बित्ने गरेकामा अहिले घरमा धारा जोडिएपछि आफूहरूको दैनिकी नै फेरिएको उहाँले बताउनुभयो । 

    ‘घरमा एक जनाको काम नै पानी बोक्ने हुन्थ्यो, अब घरमै धारा आएपछि खेतीपाती र पशुपालनमा समय दिन सकिने भयो’, उहाँले भन्नुभयो, ‘बल्ल डोकोमा पानी बोक्ने दिन सकिए ।’

    घरमै धारा अनि चौबीसै घण्टा पानी भएपछि दैनिक काम गर्न सहज भएको स्थानीय लालमाया बरालले बताउनुभयो । पानीको सहजतासँगै घरको सरसफाइ, खेतीपाती र अन्य काममा समय दिन सहज भएको उहाँको भनाइ छ । पहिला खोलाको छेउमा तरकारी लगाउने गरेका मौलाथुम्कीवासीलाई अहिले घरघरमा तरकारीलगायत अन्य खेती गर्न  सहज भएको हुनुका साथै समयको समेत बचत भएको छ ।

    देवचुली नगरपालिका र वास नमूना गाउँ परियोजनाको सहयोग तथा स्थानीयको श्रमदानमा १५ लाख ३९ हजार रुपैयाँ लागतमा एक घर, एक धारा निर्माण गरिएको हो । स्थानीयलाई खानेपानीको समस्या भएपछि वास नमूना गाउँ परियोजनासँग सहकार्य गरी खानेपानीको विस्तार गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । 

    पानीको सहजताले घरमा सबैको समय बचत भएको साथै कृषि तथा पशुपालनमा सहयोग पुगेको मौलाथुम्की खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष गिरिप्रसाद बरालले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘पहिला नगरपालिकाले सानो खानेपानी ट्याङ्की बनाएको थियो, गाउँका सबैले त्यहाँबाट डोकामा पानी बोक्नुपर्ने बाध्यता थियो ।’ अहिले सबैको घरमा तरकारी उत्पादन भएपछि तरकारी किनेर खानुपर्ने बाध्यता पनि हटेको छ । 

    देवचुली नगरपालिका र वास नमूना गाउँ परियोजनाको साझेदारीमा मौलाथुम्कीमा खानेपानी तथा सरसफाइ अभियान सञ्चालन गरिएको परियोजनाका व्यवस्थापक प्रवीण घिमिरेले बताउनुभयो । परियोजनाले देवचुली–५ र ६ मा ग्रामीण खानेपानी स्तरोन्नतिसँगै समुदायमा सरसफाइसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?