१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

मिठेफापर जोगाउन संरक्षण योजनाको आवश्यकता



  • आफ्नै खबर
  • २५ कात्तिक २०८१ आईतबार (३ हप्ता अघि)
  • पाठक संख्या ५५
  • मुगु/  पछिल्लो समय मुगुका किसानले परम्परागत मिठे(गुलियो) फापरखेतीमा कम महत्व दिँदा मुगुबाट गुलियो फापर लोप हुने अवस्थामा पुगेको छ । पहिलेको तुलनामा फापरखेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट आएकोले मुगुको उच्च भू–भागमा उत्पादन गरिँदै आएको प्रचलित फापरखेती अहिले क्रमशः घट्दै गएको हो । 

    गुलियो फापर पोषणयुक्त अन्नबालीको रूपमा चिनिन्छ र मुगुका किसानले यसलाई परम्परागत रूपमा लगाउँदै आएका थिए । तर, आधुनिक कृषि प्रणाली र नयाँ प्रविधिको विकाससँगै किसान अब अन्य नगदे बालीतर्फ आकर्षित भएका छन् । 

    गाउँका युवा जनशक्तिले विदेश जाने प्रचलन बढेको, बजारमा प्रतिस्पर्धा र फापरको तुलनामा अन्य बालीबाट छिटो आम्दानी हुने हुँदा किसानले फापरखेती गर्न छोडेका हुन । यसका साथै उचित मुल्यको अभावमा पनि यो खेती संरक्षण गर्नुपर्ने संघारमा पुगेको हो । 

    छायाँनाथ रारा नगरपालिका–७ टोप्लाका किसान प्रभुजङ शाही बताउनुहुन्छ, ‘यसको उचित मूल्य पाउन नसक्दा उनीहरूमा निराशा बढ्दै गएको छ । फापर लगाएर महिनौँ कुर्यौं, तर बेच्दा लागतसमेत उठाउन गाह्रो हुन्छ ।’

    यसरी परम्परागत खेती घट्दै जाँदा मुगुको संस्कार, पहिचान र खान्किमा असर पर्ने चिन्ता स्थानीय समुदायमा रहेको छ । उनीहरूले सरकारसँग फापरखेती प्रवर्द्धन गर्न आवश्यक सहयोग, तालिम र बजार व्यवस्थापनको माग पनि गरेका छन् । 

    विशेषगरी गुलियो फापर स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिन्छ  । गुलियो फापर सेवनले  दम,  रूघाखोकी, मुटुरोग निको पार्ने परम्परागत विश्वास हुँदा हुँदै पनि उचित संरक्षण र उत्पादनको मूल्य भन्दालागत बढी हुँदा गुलियो फापर उत्पादनप्रति चासो घटेको किसानको धारणा छ ।

    यस जिल्लाका उच्च स्थान, पिना, कोटिल्ना, मुन्दु, लिउडी, घट्टललेक, तलिलेक, रोबा, सोबा, टोप्ला , माथितुमलगायतका  क्षेत्रमा  फापरखेतीको लागि उपयुक्त स्थान मानिन्छ  हाल तिते  फापर  सामान्य रूपमा गरिँदै आए पनि मिठे फापरखेती हाल फाटफुट रूपमा गर्ने गरिएको छ ।

    मिठे फापरबाट ढेस्सु, लगड जस्ता स्थानीय परिकार बनाएर खाना नखाने बालबालिका, बिरामी, ज्येष्ठ नागरिकलाई पौष्टिक आहारको रुपमा खुवाइन्थ्यो भने कति पाहुना जाँदा वा घरमा पाहुना आउदा मिठे फापर र यसबाट बनेका परिकार नासो दिइने गरिन्थ्यो । 

    मिठे फापरको खेती हुन छोडेपछि उल्लेखित संस्कार, परम्परा र खान्कीसमेत लोप हुँदै गएको पिना गाउँका स्थानीय लोकेन्द्रबहादुर बम सुनाउनुहुन्छ ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?