१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

म्यागङमा सुन्तला टिप्न सुरु



  • आफ्नै खबर
  • २५ कात्तिक २०८१ आईतबार (३ हप्ता अघि)
  • पाठक संख्या ५२
  • नुवाकोट/  सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् । सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो एक सय रुपैयाँभन्दा बढी मूल्य पाएपछि किसानले सुन्तला टिप्न सुरु गरेका हुन् । 

    विगतका वर्षमा मङ्सिर लागेपछि मात्रै बजारमा पुग्ने सुन्तला अहिले ठूलो एकादशी (देवीघाट) र दुप्चेश्वर महादेव मन्दिर (शिखरवेसी) मा लाग्ने जात्रालाई लक्षित गर्दै टिप्न थालिएको म्यागङ–२ बुङ्ताङका किसान छेप्पोन तामाङले बताउनुभयो । उहाँले अहिले सुन्तलामा ग्लुकोज (गुलियोपन) पस्न थालेको भन्दै खानयोग्य भएकाले टिप्न थालिएको जानकारी दिनुभयो ।

    गत वर्ष प्रतिकिलो ८० रुपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै एक सय रुपैयाँभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको तामाङले बताउनुभयो । ‘व्यवसायीले बगैँचा नै जिम्मा लिन आएपछि बजारको समस्या भएन’, उहाँले भन्नुभयो, ‘गत वर्षभन्दा बढी मूल्य पाएका छौँ । यस वर्ष सुन्तलाबाट मनग्य आम्दानी हुने अपेक्षा गरेका छौँ ।’

    म्यागङ–२ स्थित बुङ्ताङमा दुई दशकअघि धान फल्ने खेत र मकै, कोदो लगाउने बारी फाडेर सुन्तलाखेती विस्तार गरिएको थियो । पछिल्ला वर्षमा यहाँका किसानले जिल्लाका साथै मुलुकका अन्य जिल्लामा पनि सुन्तला पुर्याएर प्रशस्त आम्दानी लिँदै आएका सुन्तलाखेतीका अगुवा किसान गरबहादुर तामाङले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘२०६० सालमा सुरु गरेको सुन्तलाखेतीलाई अरु किसानले नपत्याउँदा व्यावसायिक उत्पादन चुनौतीपूर्ण बनेको थियो । पछिल्लो पाँच वर्षयता बुङ्ताङलाई ‘सुन्तला गाँउ’को नामबाट चिन्न थालिएको छ, अहिले यहाँको सुन्तला गाउँको पहिचान बनेको छ ।’

    सुन्तला यहाँको पहिचान बन्नुका साथै उत्पादन वृद्धि भइरहेकाले गाँउपालिकाले व्यावसायिक खेतीलाई जोड दिँदै आएको उपाध्यक्ष सीता तामाङले बताउनुभयो । उहाँका अनुसार म्यागङ–२ बुङ्ताङ, वडा नं ४ किम्ताङ, वडा नं ५ र ६ सामरीका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आइरहेका छन् ।

    कम लगानीमा बढी आम्दानी हुने भएकाले यहाँका किसानले अहिले धान लगाउने खेतमा सुन्तलाको व्यावसायिक उत्पादन सुरु गरेका उपाध्यक्ष तामाङले बताउनुभयो । किसानलाई गाँउपालिकाले निःशुल्क तथा सहुलियत शुल्कमा बिरुवा उपलब्ध गराउनुका साथै प्राविधिक ज्ञान, तालिम, बजारीकरणलगायत क्षेत्रमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    उपाध्यक्ष तामाङका अनुसार पालिकामा क्रमशः सम्भाव्यता देखिएका अन्य क्षेत्रमा पनि सुन्तलाखेतीको विस्तार गर्ने योजना रहेको छ । एक पटकको लगानी र मुख्य मौसममा गरिने हेरचाहबाट राम्रो उत्पादन लिन सकिने भएकाले जिल्लाको म्यागङसहित आसपासका क्षेत्रमा सुन्तलाखेती विस्तार हुँदै गएको उहाँले उल्लेख गर्नुभयो । 

    हरेक वर्ष खेती र उत्पादन वृद्धि हुँदै गएको यहाँको सुन्तलाले जिल्लाको मागसहित काठमाडौँ, पोखरालगायत सहरको माग पनि धानिरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    –रासस

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?