काठमाडौं/ २०८१ सालको ‘शम्भु-निर्मला विशिष्ट साधक सम्मान' (साहित्यतर्फ) वरिष्ठ कवि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई र 'शम्भु-निर्मला विशिष्ट साधक सम्मान' (गीतसङ्गीततर्फ) वरिष्ठ गायक ईश्वर अमात्यलाई प्रदान गरिएको छ ।
स्रष्टा तथा वरिष्ठ गायक कीर्तिशेष शम्भुकुमार मिलनको चौथो वार्षिक स्मृतिदिवसका अवसरमा प्रमुख आतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीबाट मिलनको तस्वीरमा माल्यार्पणगर्दै पानसमा दियो बालेर सूचना विभाग, सञ्चारग्राममा उक्त समारोहको शुभारम्भ गरिएको थियो ।
विशिष्ट अतिथि तथा प्रमुख वक्ता प्रा. जगतप्रसाद उपाध्यायले सम्मानित व्यक्तित्वहरुको बारेमा कृति, जीवनी र योगदान समेटेर प्रकाश पार्नु भएको थियो । सम्मानित व्यक्तित्व वैरागी काइँलाले आफ्नो मन्तब्यका क्रममा मिलन सहित वहाँका साहित्यिक र सांगीतिक दुई बृहत् क्षेत्रलाई अमरत्व दिन शम्भु-निर्मला कला साहित्य समाज अझै सकृय रहन सकोस भन्ने शुभकामना व्यक्त गर्नु भयो।
सस्थाका उपाध्यक्ष टीका भण्डारीले मिलनको गजल " पत्थरको मुटु बनाई तिमी अन्तै सरे पछि" तथा सम्मानित साङ्गीतिक व्यक्तित्व ईश्वर अमात्यले "रित्तिएछन् नयन मेरा" गाएर सुनाउनु भयो ।
सस्थाका सम्रक्षक श्रीमती निर्मला रेग्मीले आ-आफ्ना क्षेत्रका शिखर व्यक्तित्वहरुले यो सम्मान् ग्रहण गरिदिनु भएकामा सस्थाको उचाइ अझ बढेको बताउंदै सस्थालाई अगाडि बढाउन दिलो ज्यान लगाउने बताउनु भयो । साथै सस्थाका सदस्य, शुभेच्छुक, साहित्य -संगीतलाई माया गर्ने सवैबाट निरन्तर सहयोग पाउने अपेक्षा राख्नु भयो ।
विशिष्ट अतिथिहरू प्रा. दिनेशराज पन्त, सुलोचना मानन्धर, प्राडा रामप्रसाद ज्ञवाली, प्राडा भागवत ढकाल, प्रा. मोहन सिटौला, डा. घनश्याम खतिवडा, प्रा. ठाकुर शर्मा, प्रतीक ढकाल, वाग्मती प्रदेश साम्सद मानानीय सुनिल केसी सहित श्रीहरी फुयाल, राधेश्याम लेकाली, सन्ध्या पहाडी, सुरेन उप्रेती, डा. टङ्कप्रसाद बाराकोटी, भरतजङ उप्रेती, रत्ननिधि रेग्मी, गीता कार्की, आलोक चालिसे आदि थुप्रै साहित्यकारको उपस्थिति रहेको उक्त समारोहमा सभापति देवी नेपालले भन्नु भयो , " असल प्रतिभाको पहिचान गरेर शम्भुकुमार मिलनलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा पुर्याउने साहित्य साधक वैरागी काइँलालाई यसरी सम्मानित गर्न पाउनु गौरवको कुरा हो । "
प्रतिक्रिया दिनुहोस