काठमाडौं/ रङ उत्पादन गर्ने कम्पनी एभरेष्ट कलर लिमिटेडले आइपिओ निस्कासन गर्ने भएको छ । कम्पनीको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण सेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
शनिबार सम्पन्न साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालक पनि चयन गरेको छ ।
अन्य कलर उद्योग भन्दा पृथक ढंगले, स्वदेशी युवाहरुको लगानीमा गुणस्तरीय एभरेष्ट कलर उपभोग गरेर आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याउने उद्देश्य लिएर १४ वर्षअघि एभरेष्ट कलर कम्पनी स्थापना भएको जनाइएको छ । कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । त्यसमध्ये संस्थापक सेयरधनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्ने छ ।
साधारणसभाले सरोज लुइँटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुङ्गानालाई संस्थापक सेयरधनीका तर्फबाट संचालकमा निर्बाचित गरेको छ । कम्पनीमा सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना र अर्का एक स्वतन्त्र संचालक समेत ७ जनाको संचालक समिति रहने ब्यवस्था छ । निर्वाचित संचालकलाई निर्वाचन अधिकृत अधिवक्ता लीलानाथ घिमिरेले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
एभरेष्ट कलर ५ महिनाअघि प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो । कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनी सरह उच्च गुणस्तरीय कलरहरु उपलब्ध गराउने नेपाली कम्पनीको रुपमा परिचित रहँदै आएको दावी गरिएको छ । स्वदेशी युवाहरु सङ्गठित भई सहकारी मोडलमा एभरेष्ट कलर सुरु गरेका थिए ।
कम्पनीले नेपाली हावापानी सुहाउँदो उच्च गुणस्तरका प्रिमियमदेखि ईकोनोमी ब्राण्डका विभिन्न प्रकारका रंगहरु उपलब्ध गराइरहेको छ । कम्पनीले वाहिरी सतहको लागि १० वर्ष वारेन्टी भएको ब्रिलिएन्ट ड्याम्प प्रुफ, ७ वर्ष वारेन्टी भएको एभरगार्ड प्रिमियम इमल्सन, एभरसाइन एक्स्टेरियर इमल्सन र र एभरकोट एक्स्टेरियर इमल्सन उत्पादन गर्दै आएको छ ।
त्यस्तै, भित्री सतहको लागि सफिर लग्जरी इन्टेरियर, डाइसी प्रिमियम इन्टेरियर, बेल इन्टेरियर, फुच्चे बेल इन्टेरियर, एलियन इन्टेरियर इमल्सन, रोयल एक्रेलिक वासेबल डिस्टेम्पर, बेल एक्रेलिक डिस्टेम्पर उत्पादन गरिरहेको छ ।
प्राइमरतर्फ प्रिमियम एक्टेरियर, इन्टेरियर प्राइमर, काठ तथा धातुमा प्रयोग हुने एभरल्याक हाइक्लास इनामेल, जुरेली सिन्थेटिक इनामेल, गैंडा बजेट एसवाइएन, इनामेल तथा त्यसमा प्रयोग हुने उड प्राइमर, मेटल प्राइमर रेड अस्साइडलगायत आल्मुनियम पेन्टस्, वाटर प्रुफिङ, गोल्ड पेन्ट, फ्लोर अक्साइड पाउडर, आर्ट कार्यमा प्रयोग हुने एभरेष्ट च्वाइसलगायत औधोगिक प्रयोजनको लागी प्रयोग हुने विभिन्न कलर उत्पादन गर्दै आईरहेको छ ।
निकट भविष्यमा १२ वर्ष वारेन्टी भएको सुपर प्रिमियम एक्स्टेरियर इमल्सन बजारमा ल्याउने तयारी भईरहेको कम्पनीले जनाएको छ ।
अन्तराष्ट्रिय गुणस्तर ब्यवस्थापन प्रमाणीकरण प्रमाण पत्र आइएसओ ९०००१ः२०१५ प्राप्त गरिसकेको एभरेष्ट कलरले कुशल ब्यवस्थापनको साथै उत्पादनहरूको गुणस्तर, वातावरण प्रभाव प्रतिको दायित्व, कार्यस्थलमा स्वास्थ्य र सुरक्षा आदिलाई मनन गरी अन्तराष्ट्रिय स्तरको प्रविधि तथा अत्याधुनिक मेसिनबाट उत्पादन तथा ल्याव टेस्ट गरी नेपाली बजारमा रंगहरु वितरण गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस